×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रक्सी खाएर शाखामा गएको भन्ने आरोप निराधार हो, तलव समायोजनका विषयमा सचेत छौं’ सिइओ दुलालसँग कुराकानी

PRIME CA

‘रक्सी खाएर शाखामा गएको भन्ने आरोप निराधार हो, तलव समायोजनका विषयमा सचेत छौं’ सिइओ दुलालसँग कुराकानी

अर्थ सरोकार

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार

काठमाडौँ । अहिले आशा लघुवित्तका १९७ कर्मचारी आन्दोलनमा छन् । संस्थाका कामु सीइओ बद्रीप्रसाद दुलालसहितको टोली आएर कर्मचारीलाई दुर्व्यवहार गरेको, मापसे सेवन गरेर कार्यालय आएको, कर्मचारीलाई काम चोर भनेको, घर पठाईदिन्छु भनेर धम्की दिएको, मोबाइल जफत गरी व्यक्तिगत प्रोफाइल हेर्ने गरेको, प्रोफाइल हेरेपछि होच्याएर बोल्ने गरेको, सुरुदेखिकै खराब कर्जा नउठाए तिमीहरुले तिर्नुपर्छ भनेको, राती राती धम्क्याउने गरेको, मानसिक तनाव दिनेगरेको लगायतका आरोप लगाउँदै कर्मचारीहरुले दुलालको राजीनामा नै पहिलो सर्त राखेर आन्दोलन गरिरहेका छन् । संस्थाले पनि उनीहरुलाई वार्तामा बोलाउनुको साटो, उनीहरुको राजिनामा स्वीकृत गरिदिने भन्दै पत्राचार गरेको छ । त्यसपछि कर्मचारीहरुले पनि एकल रुपमा सोधिएको स्पष्टिकरणको जवाफ नदिने बरु आन्दोलन चर्काउने निर्णय गरेका छन् । यसैबीच अर्थ सरोकारले कामु सीइओ दुलालसँग यसै विषयमा कुराकानी गरेको छ ।
१. तपाईंको संस्थामा आन्दोलन चलिरहेको छ, तर, तपाईं त फोन पनि उठाईरहनुभएको छैन, किन ?
खासमा मलाई सञ्चो नभएर हो । मोबाइल ‘साइलेण्ट’मा राख्ने गरेको छु । अहिले देखेर उठाईहालेँ।
२. अनि, संस्थामा त ठुलै बिद्रोह भईसकेको रहेछ त, कसरी हेर्नुभएको छ ?
साथीहरुले सामुहिक राजिनामा दिएको भन्ने कुरा जानकारीमा आयो । तर अचानक किन यस्तो कुरा आयो, हामी पनि छक्क परेका छौँ । अहिले संस्थामा आन्दोलन नै गर्नुपर्ने, वा बिग्रिसकेको केहि छ जस्तो मलाई लाग्दैन । तर पनि उहाँहरुले किन आन्दोलन गर्नुभयो भन्ने कुरा हामी पनि बुझ्दैछौँ।
३. कर्मचारीहरुले सामुहिक राजिनामा दिएर, ११ बुँदे माग पेश गरेर आन्दोलनमा गईसकेपछि तपाईंहरुले पनि वार्ता गर्नुपर्ने होइन र ?
सामुहिक राजिनामा आएको हो । तर, त्यसभित्रकै केहि साथीहरुले पनि हाम्रो नाम दुरुपयोग भयो, हस्ताक्षर दुरुपयोग भयो भनेर खबर गर्नुभएको छ । त्यसपछि हामीले सबैलाई फोन गरेर सो सामुहिक राजिनामामा तपाईंको सहमति हो कि होइन भनेर सोधेका छौँ । त्यसपछि आवश्यक निर्णय गर्ने भन्ने छ ।
४. तर, समस्याको समाधान गर्नुको साटो, राजिनामा स्वीकृत नै गरिदिन्छौँ भनेर धम्की दिनु ठिक भयो र ?
धम्की दिएको होइन । राजिनामामा तपाईंको नाम पनि रहेछ, तपाईंको सहमति हो कि होइन भनेर सोध्न त पाइयो नि । होइन र ? हामीले त्यहि गरेका हौँ । अव राजिनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न बाँकी छ ।
५. तपाईंले त मदिरा सेवन गरेर अफिसमा जानुभयो, धम्काउनुभयो, प्रोफाइल हेर्नुभयो, बिना कारण टर्चर दिनुभयो भन्ने कर्मचारीहरुको आरोप छ नि ? खासमा कुरा के हो ?
यो सब झुट हो । अलि ढिलासम्म अफिस गएको सत्य हो । बाहिर हिँडेपछि काम सक्काऔँ भन्ने हुन्छ, त्यहि भएर केहि शाखामा हामी कार्यालय समयपछि गएको पनि हो । त्यतिबेला कर्मचारी नै खुसी थिए, केन्द्रीय कार्यालयबाट सरहरु आउनुभयो, भेट्न पाइयो भन्नुहुन्थ्यो । अहिले अनावश्यक आरोपहरु लगाईरहनुभएको छ । एक त म रक्सी खाएर बाहिर हिड्ने डुल्ने मान्छे नै होइन, त्यसमाथि आफ्नै साखाहरुमा रक्सी खाएर गयो भन्ने आरोप निराधार छ । धम्काएको, विना कारण टर्चर दिएको भन्ने विषयमा पनि कुनै सत्यता छैन । हामीलाई कार्यालयको कामसँग मतलव हो । अरु सबै आरोप निराधार छन् ।
६. त्यतिकै आरोप त कसरी लाग्यो होला र ?
रक्सि खाएर अनुगमनमा आए भन्ने कुराचाहिँ गलत हो । हाम्रो तहको मान्छे शाखामा जाँदा रक्सी खाएर जान्छ र ? त्यसो गर्दा त मलाई पनि म भन्दा माथिको निकायले छोड्दैन नि, होइन र ?
७. ल एकछिनलाई तपाईंको गल्ती छैन मानौँ, तर फेरि १९७ कर्मचारी एकैचोटी भड्किनुमा पनि केहि विशेष कारण त होला नि ?
एकैचोटि यति धेरै कर्मचारी किन भड्किए, त्योचाहिँ थाहा छैन । किन यस्तो हुँदैछ भन्ने पनि हामीलाई नै थाहा छैन । हामीलाई त संस्था सम्हालेर अघि बढ्नुछ, संस्थालाई राम्रो बनाउनुछ । कसैमाथि अन्याय र पक्षपात गरेका छैनौँ। तर पनि किन यस्तो भयो त्योचाहिँ थाहा छैन ।
८. राष्ट्र बैंकले के भनेको छ त ?
लिखित रुपमा केहि भनेको छैन । फोनमा कुराकानी हुँदा यस विषयमा चासो दिनुभएको छ । यति हो ।
९. उही संस्थामा काम गर्ने कर्मचारीहरुको तलव फरक फरक हुनु पनि राम्रो त भएन नि होइन र ?
यस विषयमा बोर्डले निर्णय गरिसकेको छ । मर्जर अघिको सम्झौतामा नै १ बर्षभित्र तलव समायोजन हुन्छ भनिएको छ । १ बर्षभित्र सो काम गर्न हामी लागिपरेका छौँ । तर त्यसअघि नै साथीहरु किन यसरी आवेगमा आउनुभयो, हामीले बुझ्न सकिरहेका छैनौँ । कर्मचारीको तलवका विषयमा हामी पनि सिरियस छौँ । र सो समस्या समाधान हुन्छ ।
९.अवको समाधान के त ?
अब यसको समाधान भनेको आवश्यक पहल गर्ने नै हो । हामीले गर्ने काम गरिनै राखेका छौँ, मैले पनि बोर्डसँग कुरा गर्छु । बोर्डले पनि एक हिसाबको रोडम्याप देला, सोहि अनुसार गर्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: