×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनिराम ज्ञवालीको नेतृत्वमा लघुवित्त पीडितहरुले देशव्यापी आन्दोलन गर्ने, मुख्य एजेण्डा ‘लघुवित्तको खारेजी’ !  

PRIME CA

मनिराम ज्ञवालीको नेतृत्वमा लघुवित्त पीडितहरुले देशव्यापी आन्दोलन गर्ने, मुख्य एजेण्डा ‘लघुवित्तको खारेजी’ !  

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लघुवित्त पीडितहरुले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त संघर्ष समितिले देशव्यापी आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको घोषणा गर्दै संघर्ष समितिले सरकारसँग ९ बुँदे माग राखेका छन् । 

यसअघि आफूहरुको माग सम्बोधनका लागि पटक पटक वार्ता गर्दा पनि माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलनको घोषणा गरेको समितिका नेतृत्वकर्ता मनिराम ज्ञवालीले बताएका छन् । ज्ञवालीका अनुसार यसअघि संघर्ष समितिले सरकारसँग पाँच बुँदे माग राखेको थियो । तर, उक्त माग सम्बोधन हुने छाँटकाँट नदेखिएपछि ४ वटा माग थप गरेर आन्दोलनको घोषणा गरिएको हो । 

देशव्यापी आन्दोलनको घोषणा गर्दै संघर्ष समितिले लघुवित्त वित्तीय संस्थाको खारेजी, सामूहिक ऋण मिनाहा, गरिबलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, जनपक्षीय मौद्रिक नीति कायम गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, भूमिहीन तथा वित्तीय शोषणका पीडितहरुलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था गर्नुपर्ने माग राखेको छ । 

समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार मंसिर ५ गते काठमाडौँ लगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरिनेछ भने मंसिर १५ गते देशव्यापी रुपमा प्रदर्शन गरिनेछ । त्यस्तै, मंसिर २६ गते राष्ट्र बैंक केन्द्रित आन्दोलन प्रदेश सम्मेलनसहित सुदूरपश्चिमबाट सुरु गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै, पुस ३ गते कर्णाली प्रदेश, ८ गते लुम्बिनी प्रदेश, १३ गते गण्डकी प्रदेश १७ गते बागमती प्रदेश, २४ गते मधेश प्रदेश, माघ ७ गते कोशी प्रदेश र माघ १६ र १७ गते राष्ट्रिय सम्मेलन हुनेछ । त्यस्तै, त्यतिन्जेलसम्म पनि मागहरु सम्बोधन नभए फागुन १ गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन धर्ना तथा विरोध प्रदर्शनको कार्यक्रम घोषणा गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: