×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा दिन झुलाएको भन्दै बैंकमा ऋणी र कर्मचारीबीच विवाद, केस प्रहरीसम्म पुग्यो, कुरो नमिलेपछि दोष दुर्गा प्रसाईँलाई ! 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पैसा दिन झुलाएको भन्दै बैंकमा ऋणी र कर्मचारीबीच विवाद, केस प्रहरीसम्म पुग्यो, कुरो नमिलेपछि दोष दुर्गा प्रसाईँलाई ! 

१९ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । बैंकले पैसा दिन झुलाएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ऋणी र कर्मचारीबीच भएको विवाद प्रहरीसम्म पुगेको छ । बैंकको झापास्थित बिर्तामोड शाखामा ऋणी र कर्मचारीबीच भएको विवाद प्रहरीकहाँ पुगेको हो । बैंकले दिने भनेको पैसा समयमा नदिएर झुलाएको भन्दै मंगलबार ऋणी र बैंकका कर्मचारीबीच विवाद भएको थियो । ऋणी र कर्मचारीबीचको विवाद चर्किएपछि उक्त केस अहिले प्रहरीसम्म पुगेको छ । 

भएको के हो ? 
काँकडभित्ताका राजेश बास्कोटाले तत्कालीन मेगा बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)बाट व्यवसाय सञ्चालनका लागि भन्दै ऋण लिएका थिए । तर, आर्थिक मन्दीका कारण व्यवहार बिग्रिएपछि उनले बैंकको ब्याज तिर्न सक्ने स्थिति रहेन । उनले आफूले व्यवहार बिग्रिएको भन्दै तत्कालका लागि बैंकको किस्ता तिर्न नसक्ने बताए । तर, बैंकले उनलाई किस्ता र ब्याज तिर्नका लागि ताकेता गरिरह्यो । 

पीडित पक्षका अनुसार बैंकका कर्मचारीहरुले बास्कोटाको व्यवसाय र निर्माण हुँदै गरेको रिसोर्टको पनि अनुगमन गरेका थिए । तर, ऋण तिर्नका लागि बैंकबाट दबाब आउन थालेपछि बास्कोटाले कर्जाको पुर्नतालिकिरण गर्न माग गरे । यसका लागि बैंक तयार पनि भयो । अर्थात, बैंकले बास्कोटालाई थप ऋण दिने भयो । यस विषयमा ऋणी र बैंकबीच सहमति पनि भयो । तर, दशैँ अघि नै सहमति भए पनि बैंकले पैसा दिन झुलाएपछि बास्कोटा र बैंकबीच विवाद बढ्यो । सो विवाद थप चर्किएपछि उक्त केस प्रहरीसम्म पुगेको हो । उक्त विवादमा दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई अपहरण गर्न खोजेको आरोप समेत लागेको छ ।

के भन्छन् दुर्गा प्रसाईं ? 
यता ऋणी र बैंकका कर्मचारीबीचको उक्त विवादलाई दुर्गा प्रसाईँको अभियानसँग जोडेर प्रचार भएपछि प्रसाईँले यसप्रति आपत्ति जनाएका छन् । ‘दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा बैंकका कर्मचारी पक्राउ’ भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रसाईँले उक्त घटनामा आफू र आफ्नो अभियानको कुनै संलग्नता नभएको बताएका छन् । ‘हामी त्यति तुच्छ काम गर्दैनौँ । हामीले कुनै बैंकका कर्मचारीलाई अपहरण गरेका छैनौँ ।’, प्रसाईँले भने, ‘बिर्तामोडको घटना ऋणी र बैंकबीचको आपसी विवाद हो । हाम्रो अभियानको नाम जोडेर बदनाम गर्न खोजिँदैछ । हाम्रो अभियानले हत्या, हिंसा, अपहरणजस्ता गतिविधि गर्दैन ।’ 

ब्रान्च मेनेजर भन्छन्– ‘विवाद भएको हो, अपहरण होइन’ 
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बिर्तामोड शाखाका शाखा प्रबन्धक रावल चक्रवर्तीले बैंकका कर्मचारी र प्रसाईँका कार्यकर्ताबीच विवाद भए पनि अपहरण नभएको बताएका छन् । ऋणी राजेश बास्कोटाको विषयमा छलफल गर्ने क्रममा कर्मचारी र उनीहरुबीच सामान्य विवाद भएको चक्रवर्तीले बताए । ‘उहाँहरु छलफलका लागि कुरा गर्न आउनुभएको थियो । तर अपहरण भएको भने चाहिँ होइन ।’, ब्रान्च मेनेजर चक्रवर्तीले भने, ‘अहिले यो विषय इकाला प्रहरी कार्यालयमा छलफल हुँदैछ । अपहरण नै चाहिँ भएको होइन ।’ 

के भन्छ प्रहरी ? 
यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले पनि उक्त घटनामा बाहिर चलेको हल्लाजस्तो अपहरण नभएको बताएका छन् । बैंकले दिनुपर्ने पैसा दिन ढिला गरेपछि ऋणी र बैंकबीच विवाद हुँदा छलफलका लागि इलाका प्रहरी कार्यालय अनारमनी ल्याइएको गिरीले बताए । 

‘स्वीकृत भइसकेको ऋण पनि बैंकले दिन ढिला गरेपछि विवाद हुँदा ऋणीले बैंकका कर्मचारीलाई इलाका प्रहरी कार्यालयमा ल्याउनुभएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै प्रहरी निरीक्षक गिरीले भने, ‘दुर्गा प्रसाईँका कार्यकर्ताले ल्याएको भन्ने चाहिँ होइन । यो बैंक र ऋणीबीचको व्यक्तिगत विषय भएको देखिएको छ । अहिले छलफल भइरहेको छ ।’ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: