×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चले जिताईसकेको योग्यता सम्बन्धी केसमा गभर्नर अधिकारीविरुद्ध अर्को रिट, यसकारण पुग्छ गभर्नरको योग्यता…

PRIME CA

सर्वोच्चले जिताईसकेको योग्यता सम्बन्धी केसमा गभर्नर अधिकारीविरुद्ध अर्को रिट, यसकारण पुग्छ गभर्नरको योग्यता…

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएर बिहीबार दायर गरिएको उक्त रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकिएको छ ।

रिटमा राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि अधिकारीको योग्यता नपुग्ने दाबी गरिएको छ । ऐन अनुसार गभर्नरका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । तर, गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको पनि सर्वोच्चमा दायर गरिएको रिटमा उल्लेख छ ।

यसो त गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै यसअघि पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर, सर्वोच्च अदालतले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले दायर गरेको उक्त रिट खारेज भएको थियो ।

प्रचलित व्यवस्था अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) वा भारतीय चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसिएआई) बाट सीए उर्तिण गरेको र स्नातक समेत पास गरेको जो कोहीले स्नातकोत्तर वा सो सरहको समकक्षता पाउँछन् । भलै, आईसिएआईबाट पछिल्लो समय सीए उर्तिण भएकाहरुलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेको छ । तर, गभर्नर अधिकारीका पालामा टियूले यस्तो समकक्षता सहज रुपमा दिने गरेको थियो । यसै कारण योग्यता समेत पुग भएको दाबीसहित यसअघि सर्वोच्चले उनीविरुद्धको रिट खारेज गरेको थियो ।

गभर्नर अधिकारी राष्ट्र बैंकमा काम गर्दैगर्दा सीए पढ्न भारत गएका थिए । आईसिएआईबाट सीए पास गरिसकेपछि पनि उनले नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका थिए । उनी एकेडेमिक रुपमा स्नातकसमेत सकेका अधिकारीले सीए पास गरिसकेपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षतासमेत प्राप्त गरेका छन् ।

‘गभर्नर अधिकारीले स्नातकोत्तर उपाधि कुन कलेजबाट लिएको हो वा उहाँको चार्टड एकाउन्टेन्टभन्दा फरक अन्य कुन योग्यता हासिल गर्नु भएको छ सो को जानकारी बायोडाटामा उल्लेख गर्नुभएको छैन् । यसको मतलब उहाँको स्नातकोत्तरको योग्यता छैन भन्ने यसै कुराबाट प्रमाणित भइरहेको देखिन्छ,’ रिटमा भनिएको छ । यद्यपि सीए उतिर्ण गरेकाहरुले सामान्यतया समकक्षताको विषय बायोडाटामा उल्लेख गर्दैनन्, र यही विषयलाई लिएर गभर्नर अधिकारीका विरुद्ध रिट परेको छ । यसअघि पनि सोही विषयको रिट खारेज भएकाले यो रिट पनि खारेज हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) र नेपाल चार्टर्ड एकान्टेन्ट संघ (एक्यान)का अधिकारीहरु बताउँछन् ।

एक्यानका अध्यक्ष सीए दिपक पाण्डेले सीए महाप्रसाद अधिकारीको योग्यता गभर्नर बन्ने विषयमा पूर्ण रुपमा रहेको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले गभर्नरमाथिको व्यक्तिगत प्रतिशोधका कारण समग्र सीए फेट्रनिटीमाथि प्रहार हुनु दुःखद भएको समेत बताएका छन् । ‘गभर्नरसापले आईसिएआईबाट सीए उर्तिण गर्नुभएको छ, उहाँले स्नातकसमेत गर्नुभएको छ र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षतासमेत लिनुभएको छ ।’, सीए पाण्डेल अर्थ सरोकारसँग भने, ‘गभर्नरसापको योग्यतामाथि प्रश्न उठाउने कुनै ठाउँ छैन । उहाँसँग विभिन्न व्यक्तिका व्यक्तिगत प्रतिशोध होलान् त्यो फरक विषय हो, तर सीएको योग्यतामाथि नै प्रश्न उठाउनु र त्यसमा पनि सर्वोच्च अदालतले यसअघि नै स्पष्ट पारिसकेको विषयमाथि पुनः प्रश्न उठाउनु खेदजनक छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: