×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष सहकारीमा ‘लफडा’, बचतकर्ता भन्छन्- ‘करोडौँ फस्यो, अध्यक्ष फरार छन्’ कर्मचारी भन्छन्- ‘सबै आरोप झुटो हो’* 

PRIME CA

कृष सहकारीमा ‘लफडा’, बचतकर्ता भन्छन्- ‘करोडौँ फस्यो, अध्यक्ष फरार छन्’ कर्मचारी भन्छन्- ‘सबै आरोप झुटो हो’* 

२९ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । दिनहुँ सहकारी ठगीका घटना बाहिरिरहेका बेला कृष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालक बचतकर्ताको बचत फिर्ता नगरी सम्पर्कविहीन भएपछि बचतकर्ताहरु मर्कामा परेका छन् । लामो समय कुर्दा पनि रकम फिर्ता नहुने छाँटकाँट देखेपछि अहिले कृष सहकारीका बचतकर्ताहरु कानुनी बाटो खोजिरहेका छन् ।  

पटकपटक ताकेता गर्दा पनि सहकारीले पैसा दिने छाँटकाँट नदेखाएपछि बाध्य भएर कानुनी बाटो खोजेको उक्त सहकारीका पीडित निर बहादुर भण्डारीले बताएका छन् । ‘कृष सहकारीले हामीलाई साह्रै दुःख दियो । महिनौँ बितिसक्यो पैसा फिर्ताको माग गरेको तर आफ्नै पैसा पनि अहिलेसम्म पाएको छैन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘लाख कोसिस गर्दा पनि पार नलागेपछि अहिले कानुनी बाटो खोज्दैछौँ ।’ 

सहकारीले आफूहरुको लाखौँ बचत अपचलन गरेको भन्दै अहिले उक्त सहकारीका ८१ जना बचतकर्ताहरुले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, बागमती प्रदेशमा उजुरीसमेत दिएका छन् । पीडितहरुको उजुरीपछि मन्त्रालयले संस्थाका अध्यक्ष कलमसिंह लामा, उपाध्यक्ष तुलसीराम बाडे, सचिव बिमला लामासहित सबै सञ्चालकका नाममा रकम फिर्ता गर्न भन्दै पत्र समेत काटेको छ । ‘यो पत्र प्राप्त मितिले १५ दिनभित्र सञ्चालक समितिको आधिकारिक निर्णयसहित संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव स्वयम् उपस्थित भई लिखित जवाफ पेश गर्नुहुन वा उक्त अवधिभित्र निवेदकको समस्या समाधान गरी सोको जानकारी गराउन आदेशानुसार अनुरोध छ ।’, मन्त्रालयको पत्रमा भनिएको छ ।   

यसै पनि संस्थाका अध्यक्ष लामा महिनौँदेखि सम्पर्कविहीन रहेको पीडितहरु बताउँछन् । ‘संस्थाका अध्यक्षले एकपटक पैसा फिर्ता गर्ने आश्वासन दिनुभएको हो । त्यसदेखि अहिलेसम्म उहाँ हाम्रो सम्पर्कमै हुनुहुन्न । यतै हुनुहुन्छ कि भागिसक्नुभयो केही थाहा छैन ।’, श्यामकृष्ण हेँजुले भने, ‘मेरो साँवा/ब्याज गरी ३५ लाख लिनुपर्ने छ । तर आजसम्म १ रुपैयाँ पनि पैसा पाएको छैन । पैसा माग्न जाँदा सिधै पैसा छैन भन्छन् ।’ 

यसो पीडीत भनिएकाहरुको दाबी अनुसार कृष सहकारीले बजार प्रतिनिधिमा पनि आफ्नै नातेदार र आफन्तहरु राखेको देखिन्छ । सहकारीका बचतकर्ताका अनुसार सुरुसुरुमा आफूहरुलाई विभिन्न प्रलोभन देखाएर सहकारीमा बचत जम्मा गर्न लगाइएको थियो । बैंकमा भन्दा बढी ब्याज र विभिन्न सुविधाहरु दिने भन्दै रकम जम्मा गर्न बाध्य बनाएको अर्का पीडित बाबुकाजी दुवालले बताए । ‘सुरुसुरुमा हामीलाई बढि ब्याजको लोभ देखाए । ब्याज पनि बढि आउने अनि सुविधा पनि पाइने भएपछि हामीले पैसा सहकारीमै राखेका थियौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘तर, अहिले न ब्याज फिर्ता आयो न साँवा, बरु उल्टै बिचल्ली बनायो ।’ 

यति मात्र होइन, संस्थाका अध्यक्ष र व्यवस्थापक सुकमान लामाले सञ्चालक भन्दै गलत व्यक्तिलाई खडा गरेको पनि आरोप पीडितहरुको छ । ‘हामीले सहकारीको सञ्चालक खोजेपछि अध्यक्ष तथा व्यवस्थापकले सञ्चालक भन्दै विभिन्न व्यक्तिहरु खडा गरे तर ती सबै झुठा सञ्चालक रहेछन् ।’, पीडित हरिभक्त दुवालले भने, ‘वास्तविक सञ्चालक को हुन् ? भन्ने नै हामीलाई थाहा छैन । बचतकर्तालाई गुमराहमा राखेर सबै पैसा ठगी गर्ने दाउ बनाएछन् ।’

यता सहकारीको कार्यालय भने दैनिक १०–१५ मिनेटका लागि खुल्ने गरेको पाइएको छ । कार्यालय खोल्ने, ऋणीहरुलाई असुलीका लागि फलोअप गर्ने र सहकारीमा बचतकर्ता रकम माग्न आउन थालेपछि कर्मचारीले काम देखाएर कार्यालय नै बन्द गर्ने गरेको पाइएको हो । हाल उक्त सहकारीका पीडितहरु सहकारी ठगीको उजुरी लिएर प्रहरीमा पनि जाने तयारीमा छन् ।

अपडेट

यस विषयमा संस्थाका कर्मचारी राजकुमार श्रेष्ठले पीडीत भनिएकाहरुले गरेको दाबी ‘फेक’ भएको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै आफुलाई सहकारीको कर्मचारी बनाउने श्रेष्ठले अर्थ सरोकारको कार्यालयमा आएर गुनासो गर्नेहरुले अफिसमा भएको सामान्य ‘डिसकस’का आधारमा आफ्नो बेइज्जत गर्न खोजेको दाबी गरेका छन् । यस विषयमा सहकारी अध्यक्षलाई सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेको छैन। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: