Skip to content
LAXMI SUNRISE BANK

प्रेमप्रसाद आचार्य प्रकरणः ‘आत्मदाह गरेको एक वर्ष बित्यो तर मर्नु बाहेक केही भएन, मन्त्रीले नै बाचा पुरा गरेनन्’

अर्थ सरोकार

काठमाडौँ । २५ बुँदे मागसहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर संघीय संसद भवनअघि आत्मदाह गरेका युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि बनेको छानविन समितिको प्रतिवेदन एक बर्ष बितिसक्दा पनि सार्वजनिक भएको छैन् । गत बर्ष माघ ११ गते आत्मदाह गरेका आचार्यले उठाएका मागहरु पुरा गर्न सरकारले चासो पनि नदेखाएको र आत्मदाहपछि बनेको छानविन समितिले प्रतिवेदन पनि सार्वजनिक नगरेको आचार्यका आफन्तहरुले दुःखेसो गरेका छन् ।

आचार्यकी श्रीमती नानुका अधिकारी सरकारले परिवारलाई समेत छानविन समितिको प्रतिवेदन उपलव्ध नगराएको बताउँछिन् । अधिकारीले भनिन्, ‘सुरुमा सम्बेदनशिलजस्तो देखिएको सरकाले एक बर्षमा एउटा माग पनि सम्बोधन गरेन । आफूले जुन दुःख अहिले भोग्नुपरेको छ, त्यो अरु व्यवसायीले भोग्नु नपरोस् भनेर (प्रेम प्रसाद)जानु भएको छ । हामीले सरकारलाई माग पत्र बुझाएका पनि थियौँ । सरकारले २१ दिनको समय मागेको थियो । तर, एक बर्षमा पनि केही गरेन ।’

उनले आचार्यको निधनपछि परिवार चलाउन समेत समस्या परिरहेका बताइन् । ‘जिन्दगी चलाउनैपर्ने रहेछ । त्यतिबेला सहयोग गर्छु भन्नेले अहिलेसम्म केही गरेनन् ।’, उनले भनिन्, ‘नानीहरुको पढाइखर्च जुटाइदिन्छु भन्नेले पनि अहिलेसम्म केही गरेनन् ।’

यसो त आचार्यको निधनपछि वर्तमान सरकारका स्वास्थ्यमन्त्री मोहन बस्नेतले दुवै छोरीको पढाईको व्यवस्था गर्ने, अधिकारीलाई जागिर दिने घोषणा गरेर चर्चा बटुलेका थिए । ‘मन्त्रीज्यूले नानी पढाईदिन्छु भन्नुभएको थियो तर अहिलेसम्म वास्ता गर्नुभएन ।’, उनले भनिन्, ‘म अहिले अरनिको यातायात प्रालीमा काम गर्छु तर अहिलेसम्म मेरो पारिश्रमिक पनि तोकिएको छैन । त्यसबेला मन्त्रीज्यूले बोलेको सबै भाषण मात्रै रहेछ ।’

आचार्यको निधनपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गृहमन्त्रालयका सहसचिव नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन समेत गरिएको थियो । आचार्यको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनले माघ १० गते आत्मदाहको प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो । उनको मृत्युपछि काठमाडौँमा सरकारलाई खबरदारी गर्दै प्रदर्शन समेत भएको थियो ।

फेसबुकमा ‘मृत्यु पत्र’ लेख्दै आचार्यले स्थापित व्यापारीको नामै किटेर आफ्नो असफलताको हिस्सेदार बनेको आरोप लगाएका थिए । उनले ‘मृत्यु पत्र’मा उधारोमा सामान लगेर रकम नदिएका ठूला व्यापारीहरुको नाम नै किटेका थिए । उपेन्द्र महतोको लगानीमा सञ्चालित नेपाल ग्रामोध्योग कम्पनीले जालसाजी गरेको, मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी डिपार्टमेन्टल स्टोर, व्यापारिक घराना विशाल ग्रुपको समेत लगानी गरेको बिग मार्टले सामानको पैसा नदिएको आचार्यले आरोप लगाएका थिए ।

त्यस्तै, व्यापारी पवन गोल्यानको गोल्यान एग्रोले अर्डर गरेर सामान पु¥याएपछि फिर्ता पठाएर ठगी गरेको पनि आचार्यले लेखेका थिए । अनिल बस्नेतको मेरोतरकारी डटकम नामक अनलाइन बजारले पनि सामानको पैसा नदिएको आरोप लगाएका आचार्यले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले पनि सामानको पैसा नदिएको बताएका थिए । चौतर्फी घेराबन्दीमा परेर आफूले आत्महत्याको बाटो रोजेको उनको भनाइ थियो । आचार्यलाई आत्महत्या गर्न बाध्य पारिएका व्यक्तिहरुका विरुद्ध आत्महत्या दुरुत्साहनबारे किटानी जाहेरी समेत परेको थियो । जाहेरी परेकाहरुसँग प्रहरीले सोधबुझ गसिकेको छ । तर, छानविन समितिले प्रतिवेदन भने सार्वजनिक गरेको छैन । आचार्यले लेखेको ‘मृत्यु पत्र’ भिडियोमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK