Skip to content
LAXMI SUNRISE BANK

सहकारीको हरिबिजोग : ‘यी ५ कारण अव सहकारीमा पैसा राख्दै नराख्नू, राखेको पैसा तत्काल फिर्ता हुने आसै नगर्नू’

समाचार टिप्पणी

केहि समय अघि अर्थ सरोकारले सहकारीको वर्तमान स्थिति (त्यतिबेलाको स्थिति)बारे टिप्पणी गर्दै देशभर धेरै सहकारीको अवस्था ध्वस्त भईसकेको अवस्था चित्रित गरेको थियो । त्यतिबेला हामीलाई यति धेरै गाली आयो कि, ‘त्यति गाली त प्रधानमन्त्री नहुँदा प्रचण्डले पनि खान्थे कि नाई’ भनेजस्तै भयो । ‘सहकारीलाई जे पायो त्यहि भन्ने ? हाम्रो सहकारी भाग्छ भन्ने ? अडिटरले सब ठिक छ भनेको सहकारी ठिक छैन भन्ने तिमी को हौ ?’ भनेजस्ता गाली बर्षिए । तर त्यसको केहि समयभित्रै सहकारी भकाभक ढल्न थाले, जो हुने स्थिति छ भनेर पूर्वानुमान थियो । जसजसले सहकारीमा बचत जोखिममा छ भन्ने समाचार सुनेपछि आफ्नो बचत झिक्नुको सट्टा मिडियालाई गाली गरिरहे, आज सहकारीले सर्वश्व लुट्यो भनेर आन्दोलन गर्नेहरुको भीडमा उनीहरु पनि भेटिन्छन् ।
अधिकांश सहकारीको अवस्था ‘ध्वस्त’
नेपालमा अधिकांश ठुला सहकारीको हरिबिजोग छ । ठिकठिकैका सहकारीहरुको स्थिति पनि ठिक छैन । साना सहकारीहरु ‘बन्द गर्नुपरेको दिन गरौँला’ भन्ने सम्झेर चलिरहेका छन् । राम्रा सहकारी हातको औंलामा गनिन सक्नेमात्र छन् । यति हुँदाहुँदै पनि मान्छेहरु सहकारीमा केहि ब्याजको लोभ गरेर अझै पैसा राखिरहेका छन् । ‘हाम्रो सहकारी त आफ्नै काकाले चलाएको हो, भागेर कहाँ जान्छन् र ? हाम्रो त सानो तर आफ्नै आफ्नै मिलेर चलिरहेको सहकारी हो’ भनेजस्ता कुरा गरेर अझै पनि थुप्रै झुर सहकारीहरुले पैसा उठाईरहेका छन् । हिजो सार्है राम्रा भनिएका सहकारीहरु ढले, ती सहकारी ढलेपछि अरु ससाना ढले । अझै पनि थुप्रै सहकारीहरु ढल्दैछन् । यहि महिनानै कति भाग्ने हुन् थाहा छैन, यो बर्ष सहकारीका संचालक टाप कसेका समाचारहरु पाइपलाइनमै छन् । तपाईंमध्ये धेरैलाई सहकारीका संचालक भागे पनि सो सहकारीको सम्पत्ति होला, घरजग्गा होला भन्ने लाग्छ । यो पनि सानोतिनो भ्रम नै हो । किनकि सहकारीका धेरै सम्पत्ति बैंकमा धितो हुने गर्दछन् । कतिपय सहकारीको सम्पत्ति लिलाम गर्न बैंकहरु लागिपरेको सुन्नुभएकै होला । अव बचतकर्तालाई पनि थाहा भईसक्यो कि, बचत लिएर संचालक भागिसक्यो, बैंकले धितो लिलाम गर्ने भईसक्यो, अनि हाम्रो पैसा कसले फिर्ता दिने ?
करोडौँका सहकारी ५ हजार पनि तिर्न नसक्ने अवस्थामा
आजको दिनमा धेरै सहकारीहरुको स्थिति बिजोग छ । कुनै बेला करोडभन्दा कमको कुरै नगर्ने सहकारीहरु अहिले बचतकर्ताको पाँच हजार रुपैयाँ पनि फिर्ता गर्न नसक्ने अवस्थामा छन् । कतिपय सहकारीको अफिस खुलेको छ, तर बचतकर्ताको पैसा फिर्ता हुने अवस्था छैन । कतिपय सहकारीमा कर्मचारीहरु पैसा त उठाईरहेका छन्, तर ऋण खानेबाता दैनिक बचत उठ्नेबाहेक उनीहरुसँग बचत संकलन छैन । ऋण खानेहरुले पनि बचत गर्नलाई पैसा दिईरहेका छैनन्, तिर्नुपर्ने ऋणका लागि अलिअलि गरेर पैसा तिरीरहेका छन् । अझ स्पष्ट भन्दा धेरै व्यापारीहरु आफुले ऋण लिएको सहकारी भागिदिए पनि आनन्द नै हुन्थ्यो भनेर पुकार गरिरहेका छन् । सहकारीको कार्ड भिरेर पैसा उठाउन जाने आँट कमैले गरिरहेका छन् । समग्रमा भन्दा सहकारीमा काम गर्ने कर्मचारीहरुले निकै जोखिम मोलेर काम गरिरहेका छन् । अझ तीमध्ये धेरैले त तलवसमेत पाएका छैनन् ।
सहकारीका पीडा आफ्नै
यता सहकारीको पीडा आफ्नै छ । मकै पोल्ने दिदिदेखि घरकि बुढी हजुरआमासम्मलाई सहकारीमा पैसा राख्नु हुन्न भन्ने परिसक्यो भनेपछि निक्षेप राख्न कोहि आउंदैनन् । सबै पैसा फिर्ता गर्न मात्र आउँछन् । लगानीजति घरजग्गामा छ, त्यहि घरजग्गा बिक्ने अवस्थामा छैन । बरु सहकारीका सम्पत्तिहरु उल्टै बैंकले लिलामीमा चढाईरहेका छन् । अफिस खोलौं, कुटाई खाईएला भन्ने पीर, नखोलौँ, हाम्रो सहकारीका संचालक भागे भनेर बचतकर्ताहरुको आन्दोलन सुरु भईहाल्छ ।  पैसा उठाउन जाउँ कसैले पत्याउँदैन, लिएको ऋण कसैले तिर्दैन । अझ आजकल त मेरो हजुरआमा पर्नेको, मेरी काकी पर्नेको पैसा तिर अनि मात्र तेरो ऋण तिर्छु भनेर उल्टै ऋणीहरु थर्काउँछन् । सहकारीका नेताहरुलाई चुनावी रडाकोले नै फुर्सद छैन, सरकार निर्देशन दिन्छ, विकल्प दिंदैन । अनि सहकारी नडुबेर के होस् त ?
सुन्दा तितो भए पनि सत्य यहि हो, अव पनि ब्याजको लोभले सहकारीमा पैसा राख्नु भनेको पैसाको माया मार्नुजस्तै हो । कसैले सहकारीमा पैसा राख्ने सोच्छ मात्र भने पनि उसले सो पैसाको माया गर्दैन भन्ने स्थिति छ बजारमा । ब्याज त परकै कुरा भो, सावाँ पनि डुब्ने खतरा छ सहकारीहरुमा । केहि सहकारी राम्रा नभएका पनि होइनन् । तर लहडमा ती सहकारीको भविष्य पनि गाह्रो छ । किनकि अव त भाष्य नै यस्तो निर्माण भईसक्यो कि, अरे यार सहकारी भाग्नु कुन ठुलो कुरा भयो र ? सबै सहकारी नभए पनि, अधिकांश सहकारीको हालतखराब छ यतिबेला र त्यस्ता सहकारीहरुमा पैसा राख्नु जोखिमपूर्ण छ ।
आखिर के-के कारण सहकारीमा पैसा नराख्ने त ?
१. अहिले सहकारीहरु चरम बचत संकटमा छन् । अर्थात सहकारीहरुसँग निक्षेप दिने मान्छे नै छैनन् भन्दा पनि हुन्छ । तपाईंले सहकारीमा पैसा राखीहाल्नु भयो भने पनि सो पैसा धर्ना बस्ने बचतकर्तालाई अलिअलि फिर्ता गर्न प्रयोग हुन्छ । ऋणको ब्याजबाट उठेको पैसाले तपाईंलाई सहकारीले ब्याज त केहि महिना देला, तर उसले बचत मासिसकेको हुन्छ । र तपाईंलाई चाहिएको बेला सहकारीले तपाईंको बचत फिर्ता गर्न सक्दैन । अनि त तपाईं पनि आन्दोलनमा सहभागी हुनु बाहेक कुनै विकल्प रहन्न ।
२. कतिपय सहकारीले स्थिति राम्रो हुँदैछ, अव सहकारी राम्रो हुन्छ भनेर भ्रम छरिरहेका छन् । अहँ, यस्तो भ्रममा नापरेकै राम्रो । किनकि सहकारीको स्थिति अझ केहि बर्ष यस्तै रहने देखिन्छ । तपाईंले पैसा राखेको १ महिनापछि नै सहकारी तपाईंको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुग्छ । सुरुसुरुमा ब्याज दिने सहकारीले त्यसपछि ब्याज पनि दिन सक्दैन । सुरुमा हात जोडेर बचत माग्ने सहकारी त्यसपछि तपाईंलाई चिन्नै छोड्ने गरी सम्पर्कविहीन हुन्छ । अहिले धेरैको हालत त्यस्तै छ ।
३. हुन त सावाँ भन्दा ब्याज प्यारो भन्छन्, तर सावाँ नै हराए ब्याजको के अर्थ भयो र ? ब्याज त बैंकहरुले पनि दिन्छन् नि । पैसा बचत नै राख्नुपर्ने भए, थोरै ब्याज खाएर सुरक्षित नै ठाउँमा राख्दा भयो नि, होइन र ? अनि कतिपयको तर्क हुन्छ, बैंक पनि नडुब्लान् भन्न सकिन्छ र ? कुनैबेला नेपाल बिकास बैंक पनि त डुबेको हो नि । तर बैंकहरुको त नियामक छ, राष्ट्र बैंक छ, सहकारीको त कोहि पनि छैन भन्दा पनि हुन्छ । त्यसैले सहकारीमा बचत गर्नु आजको स्थितिमा ठिक नहुन सक्छ ।
४. अहिले सहकारीहरुलाई यस्तो बाध्यता भईसक्यो कि सहकारीमा तपाईंले पैसा राख्नेबित्तिकै सो सहकारीले सार्है किचकिच गर्ने पूरानो बचतकर्तालाई बोलाएर बचत फिर्ता गरिदिन्छ । अर्थात तपाईंले बचत गरेको छु भनेर सहकारीमा राखेको पैसा, सहकारीमा बचत नै हुँदैन । अनि तपाईंलाई चाहिएको पैसा चाहिएको बेलामा कसरी पाउनुहुन्छ र ?
५. केहि ठुला सहकारी भाग्दा र केहि ठुला सहकारीका मालिक अझै पक्राउ नपर्दा सहकारी संचालकहरुको मनोबल बढेको छ । ए, यति पैसा जम्मा छ, लिएर भागौं भने पनि गाह्रो छैन भनेर धेरै सहकारीका संचालकहरु बसिरहेका छन् । पावर हुनेको भिसा लागिहाल्छ, उनीहरु गईहाल्छन् । नभए सुर्यदर्शन लगायतका सहकारी ठगेर भागेका जीबी राई कसरी मलेसिया पुग्थे र ? होइन र ?
बचतकर्ताको बचत फिर्ता हुने सम्भावना कम, भईहाले पनि ५ बर्षसम्म गाह्रो !
समग्रमा भन्दा अहिले सहकारीमा पैसा राख्नु भनेको धेरैहदसम्म मुर्खता हुन सक्छ । त्यसैले सहकारीमा पैसा राख्दा ख्याल गर्दा राम्रो हुन्छ । आफुले ऋण चलाएको अवस्थामा सो ऋणको किस्ता तिर्न वा ब्याज तिर्न गरिने दैनिक बचत बाहेक अरु बचत सहकारीमा यतिबेला नगर्दा नै राम्रो हुन्छ । किनकि तपाईंको पैसा न सरकारले फिर्ता गर्न सक्छ, न सहकारीले फिर्ता गर्ने अवस्था छ । पैसा डुब्यो भनेर रुनु भन्दा अहिले नै ख्याल गर्दा राम्रो हो नि, होइन र ? फेरी केहि राम्रा सहकारी पनि नभएकाचाहिं होइनन् है । तर फेरी कसलाई राम्रो भन्नु । हिजो सूर्यदर्शनलाई पनि राम्रो भनेकै हो, शिवशिखरलाई पनि राम्रो भनेकै हो । आज सबै डुबिसके, अव कसरी पहिला राम्रो थिए भन्नु । अहँ, यी सहकारीहरुले तत्काल तपाईंको पैसा फिर्ता गर्न सक्ने अवस्था नै छैन । तत्काल पनि के भन्नु, अर्को ५ बर्ष छैन भन्दा पनि हुन्छ । बाँकी त पैसा तपाईंको, राम्रो ब्याज आए पनि तपाईंको पैसा, डुबे पनि तपाईंको पैसा । त्यसैले मर्जी पनि तपाईंको नै ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK