×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिबी राईले खोलेको सानो पाइला सहकारीमा महानगरले ताला लगायो, प्रहरी खोजेको-खोज्यै, सञ्चालक भागेको-भाग्यै !

PRIME CA

जिबी राईले खोलेको सानो पाइला सहकारीमा महानगरले ताला लगायो, प्रहरी खोजेको-खोज्यै, सञ्चालक भागेको-भाग्यै !

अर्थ सरोकार

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वीरगन्ज महानगरपालिका-६ स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा सिलबन्दी गरिएको छ । बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै महानगरमा परेको उजुरीउपर कारबाही प्रक्रिया अघि बढाउँदै वीरगन्ज महानगरपालिकाले सहकारीको कार्यालयमा सिलबन्दी गरेको हो । महानगरको सहकारी शाखा प्रमुख सुनीलकुमार कर्ण, वडा नम्बर ६ का अध्यक्ष जयप्रकाश साह अग्रवाल र प्रहरीको रहोबरमा सहकारीमा सिलबन्दी गरिएको महानगरले जनाएको छ ।

सानो पाइला सहकारीमा वीरगञ्जका करिब ८ सय जना बचतकर्ताको करिब १ अर्ब ३५ करोड रुपैयाँ बचत रहेको थियो । तर, सहकारीको रकम हिनामिना गरेर संस्थाका अध्यक्ष तथा सञ्चालक फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ । 

उक्त सहकारी देशभर सहकारी नेटवर्किङ खडा गरी अरबौँ ठगी गर्ने गितेन्द्रबाबु (जिबी) राईको समूहले खोलेको सहकारी हो । हाल सहकारीका संस्थापक अध्यक्ष जिबि राईसहित सञ्चालकहरु फरार छन् । 

५२ जना बचतकर्ताले दिएको उजुरीका आधारमा हालसम्म संस्थाका संस्थापक अध्यक्ष जिबी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनिता श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन हियाँ, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । हालसम्म संस्थाका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् भने अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाले गरेको अनुसन्धानबाट पनि सहकारीको रकम गैरकानुनी रुपमा हिनामिना गरेको, बिना धितो ठूलो रकम सहकारीकै सञ्चालकले प्रयोग गरेको तथा कानुनविपरीत सहकारीको ६० लाख रुपैयाँ काठमाडौँमा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई दिएको पाइएको थियो । सहकारीका सञ्चालक नै सम्पर्कविहीन भएपछि हाल महानगरले आवश्यक कारबाहीका लागि सीआईबी, राष्ट्र बैंक र मन्त्रालयलाई पत्र पठाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: