Skip to content
LAXMI SUNRISE BANK

टाटाका कर्मचारीमाथि खुलेआम ठगीको आरोप, ‘एउटा गाडीको फिचर देखाएर अर्कै गाडी भिडाइयो’

सुदर्शन श्रेष्ठ

काठमाडौँ । टाटाका कर्मचारीमाथि खुलेआम ठगीको आरोप लागेको छ । धनगढीका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रालिका कर्मचारीले खुलेयाम ठगी गरेको आरोप लागेको हो ।

अफर र फिचरको लोभ देखाएर आफूलाई टाटाको मेनेजर बताउने भरत थापाले ठगी गरेको धनगढी उपमहानगरपालिका-१४ स्थित बिआरएस फेन्सी सपका सञ्चालक बिशाल चौधरीले आरोप लगाएका छन् । ‘मैले गाडी किन्ने सोच बनाएको हो । गाडी किन्न लागेको भन्ने थाहा पाएपछि उहाँहरु मेरो पसलमै आउनुभएको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै चौधरीले भने, ‘त्यसबेला उहाँहरुले मैले भनेको मूल्यमा, मैले खोजेका सबै फिचरसहितको गाडी आउँछ भन्नुभयो । त्यसपछि मात्रै मैले गाडी बुकिङ गरेको हुँ । तर, अहिले गाडीमा मैले भनेका फिचरहरु छैनन् ।’

चौधरीका अनुसार उनलाई सुरुमा टाटा पन्च भनेर देखाइएको गाडी र अहिले ल्याइएको गाडी फरक छ । अहिले ल्याइएको गाडीमा बुकिङ गर्नुभन्दा अगाडि हुन्छ भनिएका फिचरहरु केही छैनन् ।

गाडीको बुकिङ लिनका लागि चौधरीको पसलमै पुगेका टाटाका कर्मचारीले उनलाई उनले खोजेको सबै फिचरसहितको गाडी ३९ लाख पर्ने र डेढ लाख डिस्काउन्ट गरेर ३७ लाख ४९ हजारमा आउने बताएका थिए । तर, हाल टाटाले चौधरीलाई भिडाउन लागेको गाडी ‘टाटा पन्च एड्भेन्चर एमटी’ हो, जसको नेपाली बजार मूल्य नै टाटाले ३७ लाख ४९ हजार रुपैयाँ तोकेको छ । अर्थात, टाटाका कर्मचारीले चौधरीलाई डेढ लाख डिस्काउन्टको प्रलोभन देखाएको पनि पुष्टि हुन्छ ।

बुकिङअघि आफूलाई भनेको र देखाए अनुसारको गाडी र फिचर नभएपछि सो गाडी लिन चौधरी तयार भएनन् । तर, टाटाका कर्मचारीले भने बुकिङका लागि दिएको ५० हजार पनि फिर्ता नदिने बरु पैसा थपेर अर्कै गाडी लिनुस् भन्दै दादागिरी देखाएको चौधरीको आरोप छ । ‘सुरुमा गाडी हेर्छु भन्दा अहिले गाडी छैन, बुकिङ गरेपछि मात्रै आउँछ भनियो तर अहिले बुकिङअघि भने अनुसारको फिचर गाडीमा छैन अनि मैले कसरी सो गाडी किन्ने ?’, चौधरीले भने, ‘भने अनुसारको गाडी आएन, म गाडी लिन्न भन्दा टाटाका कर्मचारी बुकिङको पैसा फिर्ता गर्न मान्दैनन्, सोही मूल्यमा मैले बुकिङअघि भनेको फिचरसहितको गाडी दिनुस् भन्दा पनि मिल्दैन भन्छन् । एउटा गाडी भनेर अर्कै गाडी ल्याउने अनि लिन्न भन्दा दादागिरी गर्न मिल्छ र ?’

यता आफूलाई टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रालिको मेनेजर बताउने भरत नेपालीले भने आफूहरुले बुकिङ लिएकै गाडी डेलिभरी गर्न लागेको दाबी गरेका छन् । यतिसम्म कि उनले बुकिङ लिनुपूर्व चौधरीसँग सम्झौता गरेको, कोटेशन पठाएको समेत दाबी गरेका छन् । तर, उक्त सम्झौता उपलब्ध गराउन भने उनी तयार भएनन् । बरु उल्टै गाडी लिने व्यक्तिले सुरुमा गाडीको बारेमा राम्रोसँग जानकारी नलिएको भन्दै आफू चोख्खिने कोसिस गरे ।

यता चौधरीले पनि आफूसँग टाटाले बुकिङअघि कुनै सम्झौता नगरेको बताए । बरु कागजका नाममा बुकिङका लागि भन्दै बुझाएको ५० हजारको रसिद भने दिइएको चौधरीले बताएका छन् ।

आफूले खाजेको फिचर र बुकिङ गर्नुअघि ब्रिफिङ गरिएअनुसारको गाडी नआएपछि अहिले चौधरी तनावमा छन् । न टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रालि, बुकिङको पैसा दिन तयार छ न त बुकिङअघि हुन्छ भनिएको फिचरसहितको गाडी दिन तयार छ । यसरी घरघरमै पुगेर डिस्काउन्ट र फिचरको लोभमा टाटाका कर्मचारीले भने अनुसारको गाडी नदिँदा मर्कामा परेको चौधरीले गुनासो गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK