Skip to content
LAXMI SUNRISE BANK

धरहराको पार्किङ बन्द गर्नु भन्ने पत्रमा बालेनको आक्रोश- ‘पार्किङ बन्द छैन, हुँदैन’

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ माहानगरपालिकाले धरहरामा सुरु गरेको निःशुल्क पार्किङ बन्द गर्नु भन्ने पत्रमाथि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आक्रोश पोखेका छन् । शहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ सुरु गरेको भन्दै पार्किङ बन्द गर्न पठाएको पत्रमाथि मेयर शाहले आक्रोश पोखेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयको पत्रमाथि आक्रोश पोख्दै मेयर शाहले धरहराको बेसमेन्टमा सुरु भएको निःशुल्क पार्किङ बन्द नभएको र बन्द नहुने बताएका छन् ।

‘पार्किङ बन्द छैन र बन्द हुने छैन, महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ ।’, मेयर शाहले लेखेका छन्, ‘अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।’

त्यस्तै, मेयर शाहले धरहराको बेसमेन्टमा सुरु गरिएको पार्किङ बन्द गर्न भन्दै महानगरलाई पत्र लेख्नु लाजमर्दो भएको भन्दै पत्र केपी ओलीलाई लेख्न जवाफ फर्काएका छन् ।

बालेनले लेखेका छन्ः

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो । सोही उदघाटनलाई काठमाडौँका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ।’

तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’

उद्घाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नुभएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौँ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK