Skip to content
LAXMI SUNRISE BANK

नियम विपरित सेयर बिक्री गर्दै भोले गणेश सेयर दलाल, तत्काल नरोके कार्वाही गर्ने बोर्डको चेतावनी !

अर्थ सरोकार

काठमाडौँ । भोले गणेश सेक्युरिटीज (ब्रोकर नम्बर ६१) ले कानुन विपरित प्रोमोटर सेयर बिक्री गर्न लागेको खुलासा भएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ विपरित प्रोमोटर सेयर बिक्री गर्न कम्पनीले सेयर बिक्रीका लागि ३५ दिने सूचना नै जारी गरेको छ ।

धितोपत्र व्यवसायी नियमावली (धितोपत्र दलाल तथा व्यापारी) नियमावली, २०६४ मा धितोपत्र दलालको सेयरधनीले आफूले ग्रहण गरेको सेयर अनुमतिपत्र प्राप्त भएको एक वर्षसम्म बिक्री वा नामसारी गर्न नपाउने उल्लेख भएविपरित कम्पनीले सेयर बिक्रीका लागि सूचना निकालेको हो ।

‘धितोपत्र दलालको सेयरधनीले आफूले ग्रहण गरेको सेयर अनुमतिपत्र प्राप्त भएको वा सेयर आफ्नो नाममा कायम हुन आएको मितिले एक वर्ष पूरा नभएसम्म बिक्री वा नामसारी गर्न सक्ने छैन ।’, नियमावलीमा उल्लेख छ ।

भोले गणेश सेक्युरिटिजले धितोपत्र बोर्डबाट सीमित कार्य गर्नेगरी २०८० वैशाख १८ गते आशयपत्र पाएको थियो भने त्यसपछि सो ब्रोकरले २०८० भदौ १२ गतेदेखि ब्रोकर सेवा सुरु गरेको थियो । यसको सिधा अर्थ हो –भोले गणेशले बोर्डबाट अनुमतिपत्र पाएको एक वर्ष पूरा भएको छैन । प्रचलित कानुन मिचेर सो ब्रोकरले आशयपत्र पाएको ९ महिना र सञ्चालनमा आएको ५ महिनामै संस्थापक सेयर बिक्री गर्न लागेको छ, जुन सरासर कानुन विपरित हो ।

यता कम्पनीका सेयरधनी अन्जीब तुलाधरले भने आफूहरुले बिक्री गर्न लागेको संस्थापक सेयर कानुन विपरित नभएको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले धितोपत्र बोर्डको नियमावलीअनुसार नै कम्पनीको प्रोमोटर सेयर बिक्री गर्न लागेको बताएका छन् । ‘हाम्रो कम्पनी दर्ता भएको २०७९ असोज १११ गते हो । र सबै सेयरधनीको सेयर दर्ता कायम भएको २०७९ असोज २४ गते हो, यसरी हिसाब गर्दा नियमावलीमा भनिएको जस्तो एक वर्ष नाघिसक्यो ।’, अर्थ सरोकारसँग कुराकानी गदै उनले भने, ‘त्यही अनुसार नै सेयर बिक्री गर्न लागेका हौँ । यो कानुन विपरित होइन, छैन ।’

प्रोमोटर सेयर बिक्री गर्न भन्दै कम्पनीले जारी गरेको सूचना नियमानुसार नै भएको दाबी गरेका तुलाधरले बोर्डले लाईसेन्स पाएको एकवर्षपछि मात्रै सेयर नामसारी गर्नु भनेको खण्डमा आफूहरुले त्यतिन्जेल विक्री प्रकृया होल्ड गर्न तयार रहेको बताएका छन् ।

यता बोर्डले पनि भोले गणेशको सो काम गैरकानुनी रहेको र यस विषयमा कम्पनीलाई आवश्यक निर्देशन दिने बताएको छ । ‘साथीहरुले कानुनको अपव्याख्या गर्नुभएको रहेछ । हामी आवश्यक सचेत गराउँछौँ ।’ बोर्डका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘कानुनमा एउटा कमाले कति फरक पार्छ भने भोले गणेशको केसमा गलत भएको प्रष्ट छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK