×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कनेक्ट आईपीएस ह्याक गरेर सानिमा बैंकबाट चोरियो पैसा, एनआईसीका कर्मचारीको भूमिका शंकाष्पद !

PRIME CA

कनेक्ट आईपीएस ह्याक गरेर सानिमा बैंकबाट चोरियो पैसा, एनआईसीका कर्मचारीको भूमिका शंकाष्पद !

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । सुनसरीमा कनेक्ट आईपीएस ह्याक गरेर १० लाख रुपैयाँ चोरी भएको पाइएको छ । कनेक्ट आईपीएस ह्याक गरेर सुनसरीको इनरुवा नगरपालिका-२ बस्ने शिव नन्दन मेहताको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको पाइएको हो । ह्याकरले मेहताको कनेक्ट आईपीएस ह्याक गरेर उनको र उनको आमा रुसनी देवी मेहताको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी गरेको पीडित मेहताले बताएका छन् । 

मेहताका अनुसार १ लाख १० हजार रुपैयाँ रुसनी देवी मेहता (आमा)को नाममा रहेको लुम्बिनी विकास बैंक र उनकै नाममा सानिमा बैंकमा रहेको खाताबाट ९ लाख रुपैयाँ चोरी भएको हो । 

भएको के हो ? 
माघ ९ गते दिउँसो १२ः०७ बजे आफ्नो नम्बरमा कनेक्ट आईपीएसबाट म्यासेज आएको र कसैले ह्याक गर्यो कि ? भन्ने शंका लागेर मेहताले कनेक्ट आईपीएसको इमेल/पासवर्ड चेन्ज गरे । तर, माघ १० गते बिहान ९ः३० बजे रुसनी देवी मेहता (आमा)को नाममा लुम्बिनी विकास बैंकमा रहेको खाताबाट ५/५ हजारका दरले २२ पटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर भएको म्यासेज आयो । उक्त रकम अफसोर सफ्ट टेक प्राइभेट लिमिटेडको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा ट्रान्सफर भएको थियो । कनेक्ट आईपीएस ह्याक गरी रकम ट्रान्सफर भएको थाहा पाएपछि शिव नन्दन आफ्नो आमालाई लिएर लुम्बिनी विकास बैंकको इनरुवा शाखामा पुगे र निवेदन दिए । 

त्यसपछि १०ः१५ मा उनको मोबाइलमा सानिमा विकास बैंकमा रहेको उनको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर भएको म्यासेज आयो । आमाको खाताबाट रकम चोरी भयो भन्दै बैंकमा निवेदन दिन पुगेका शिव नन्दन आफ्नै खाताबाट ९ लाख चोरी भएको देखेर अचम्ममा परे । त्यसपछि उनी तत्कालै सानिमा बैंकमा पुगे । बैंकमा पुगेर थाहा भयो, उनको खाताबाट ९ लाख रुपैयाँ एनआईसी एशिया बैंकको बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर भएको रहेछ । त्यसपछि उनले उक्त ट्रान्जेक्सन आफूले नगरेको दाबी गर्दै रकम रोक्का गर्न आग्रह गरे । तर, बैंकले रकम रोक्का गर्न नमिल्ने भन्दै एनआईसी एशिया बैंकमा जान आग्रह गर्यो । 

त्यसपछि उनी हतारहतार एनआईसी एशिया बैंकको शाखा कार्यालयमा पुगे । तर, एनआईसी एशिया बैंकले पनि उनको आग्रह सुनेन । बरु, उल्टै प्रहरीमा उजुरी दिन भन्यो । बैंकले खाता रोक्का गर्न नमानेपछि उनले कनेक्ट आईपीएसमा पनि खबर गरे । त्यतिबेलासम्म मेहताको खाताबाट ट्रान्सफर भएको रकम एनआईसी एशिया बैंकबाट चेकमार्फत भुक्तानी भइसकेको थियो । 

कनेक्ट आईपीएस ह्याक गरेर रकम चोरी भएको थाहा पाएलगत्तै बैंकमा पुगेर रकम रोक्का गर्न आग्रह गर्दागर्दै पनि बैंकले नसुन्दा रकम चोरी भएको पीडित मेहताले बताएका छन् । ‘म रकम ट्रान्सफर भएको म्यासेज आउने बित्तिकै बैंक पुगेको थिएँ । तर, एनआईसी एशिया बैंकले मेरो कुरै सुनेन ।’, उनले भने, ‘समयमै बैंकले रकम रोक्का गरिदिएको भए मेरो पैसा चोरी हुने थिएन । एनआईसी एशिया बैंकले वास्ता नगर्दा मेरो पैसा चोरी भयो ।’

हाल पीडित मेहताले कनेक्ट आईपीएस ह्याक गरेर भएको रकम चोरीका विषयमा प्रहरीमा पनि जाहेरी दिएका छन् । हाल प्रहरीले कनेक्ट आईपीएस ह्याक गरेर रकम चोरी गर्नेहरुको विवरण बैंकमार्फत निकालेर उनीहरुविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको तर अझैसम्म पनि पक्राउ नपरेको पीडित मेहताले बताएका छन् । यता प्रहरीले पनि उक्त विषयमा अनुसन्धान भइरहेको बताएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: