काठमाडौँ । धितोपत्र बोर्डमा पछिल्ला केहि दिन सेयर ब्रोकरहरुले गरेका बदमासी र दिएका हैरानीबारे आउने उजुरीका चाङ लाग्यो । ब्रोकरहरुले समयमा पैसा दिएनन्, फोन उठाएनन्, पैसा कटाएर आधामात्र दिए लगायतका दर्जनौँ उजुरी बोर्डमा परे । बोर्डमा भएका कर्मचारीहरु दलालभन्दा बाठा छन् । र सायद पूराना दलालहरुको चिन्ता ती पूराना दलालहरुलाई भन्दा पनि बोर्डको कुर्सीमा बसेकाहरुलाई धेरै छ । र त कार्वाही प्रक्रिया अघि बढाउनुपर्ने, पैसा तिर्न सिधा निर्देशन दिनुपर्ने ठाउँमा उल्टै फोन गरेर, तपाईंको नाममा अलि बढी नै उजुरी आयो है भनेर सूचना चुहाईदिए बोर्डका कर्मचारीहरुले । एक त नयाँ ब्रोकरहरुले बिजनेश खोसिरहेका बेला, फेरी कारवाहीमा परिने भइयो भनेर यसै पनि चिन्तामा थिए पूराना ब्रोकर । तर कार्वाहीको चिठी नकाट्न बोर्डका हाकिमलाई कन्भिन्स गरेका दलालहरुले हतारहतार एउटा विज्ञप्ति निकाले, जसमा उनीहरुले विभिन्न कारणहरु देखाएर सेयर बेचेको पैसा भुक्तानी गर्न नसकेको दाबी गरेका छन् ।


