×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्जन विक प्रकरणः बीमाको रकम हात पार्न विवाह र दुर्घटनाको नाटक गर्ने ५ जना दोषी ठहर, अब जेलको बास !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सर्जन विक प्रकरणः बीमाको रकम हात पार्न विवाह र दुर्घटनाको नाटक गर्ने ५ जना दोषी ठहर, अब जेलको बास !

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । बीमाबापतको रकम हात पार्न विवाह र दुर्घटनाको नाटक गरेर हत्या गरेको आरोप लागेका ५ जना दोषी ठहर भएका छन् । बीमाको २ करोड ५० लाख रुपैयाँ हात पार्न सर्जन बिकको हत्या गरेको आरोप लागेका सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी, सरदार अहमद खाँ र टोप बहादुर राना क्षेत्रीलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

अदालतको आदेशअनुसार सपना मल्ललाई ८ वर्ष कैद र ७२ लाख १८ हजार जरिवाना, सञ्जीव अर्याललाई ८ वर्ष कैद र ८० लाख ३६ हजार जरिवाना, दीपक केसीलाई ६० लाख जरिवाना र ८ वर्ष कैद र सरदार अहमद खाँलाई ८ वर्ष कैद र २० लाख जरिवाना तोकिएको छ । त्यस्तै, टोपबहादुर राना क्षेत्रीलाई भने ४ वर्ष कैद र ३६ लाख ९ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

भएको के थियो ?
अदालतबाट दोषी ठहर भएकी सपना मल्लले सञ्जीव अर्यालसँगको योजना अनुसार २०७७ फागुन २८ गते सर्जन बिकसँग विवाह गरेकी थिइन् । सोह मितिमा सर्जनको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा दुई करोड ५० लाख रुपैयाँ बराबरको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरिएको थियो । तर, योजनाबद्द रुपमा सरदार अहमद खाँले रातिको समयमा मोटरसाइकल दिएर बाहिर पठाएका थिए । सोही बेला रुपक भनिने टोप बहादुर राना क्षेत्रीले चलाएको माइक्रोबसको ठक्करबाट विकको मृत्यु भएको थियो ।

कम्पनीमा बीमा गराइएकाको रकम दाबी गर्दा दाबी गर्नेले बैजनाथ गाउँपालिका ६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर रानाक्षेत्रीले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे.१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जन विक घाइते भएको, घाइते भएका विकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको, दुर्घटनामै विकको मृत्यु भएको प्रहरीको प्रारम्भिक स्थलगत रिपोर्टले देखाएको तथ्य प्रस्तुत गरेर कम्पनीबाट बीमा रकम भुक्तानी लिए । योजना अनुसार नै प्रहरी बोलाएर दुर्घटनाको नाटक सम्पन्न भएकाले अदालतले पनि सवारी र्दुघटनाका दोषीका रुपमा बस चालक टोपबहादुर राना क्षेत्रीलाई १ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

विकले रिलायन्स लाइफ ईन्स्योरेन्समा सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरेका थिए । सोही आधारमा उनकी श्रीमती सपना मल्लले बीमा रकमका लागि कम्पनीमा दाबी गरिन् । कम्पनीले पनि २०७८ साउन १३ गते ‘पोलिसी’ अनुसारको २ करोड ५० लाख रुपैयाँ उनै सपना मल्ललाई बुझायो । तर, माथिको सबै घटनाक्रम ‘फेक’ थियो ।

सर्जन विकको सवारी दुर्घटनामा मृत्यु भएको थिएन, बरु उनलाई मारिएको थियो । बीमा रकम हत्याउन नक्कली सवारी चालक बनेर टोप बहादुर राना १ महिना जेल बसेका थिए । सुरुमै डिजाइन गरिएको हत्या योजना अनुसार सबै काम फिल्मी शैलीमा पूरा भएका थिए । प्रहरीको रिपोर्ट दुर्घटना नै भनेर बन्यो, अदालतले सोहि अनुसार आदेश दियो । मृत्यु भएकाकी श्रीमती भनिएकीले बीमाको दाबी भुक्तानी लिइन् । तर घटना त्यस्तो नभएर अर्कै थियो । यो केसमा बीमा कम्पनीका अभिकर्ता, बीमा रकम पाउने मल्ल लगायतले सबै घटना योजनामा नै गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि सर्जन बिकको मृत्यु दुर्घटना नभएर हत्या भएको निष्कर्ष निकालेको थियो । पत्रकार सम्मेलन नै गरेर सीआईबीले आरोपीहरुले पूर्वयोजना अनुसार नै बीमाको रकम हात पार्न नक्कली विवाह र दुर्घटनाको नाटक गरेको जनाएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: