×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तमा कर्मचारी आन्दोलनः संस्था भन्छ, ‘जबरजस्ती तालाबन्दी गरियो’, कर्मचारी भन्छन्, ‘सहमतिमै हो’ 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेरुडे लघुवित्तमा कर्मचारी आन्दोलनः संस्था भन्छ, ‘जबरजस्ती तालाबन्दी गरियो’, कर्मचारी भन्छन्, ‘सहमतिमै हो’ 

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाका कर्मचारीले कुनै पनि हालतमा आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । बैशाख ३ गतेदेखि शाखा कार्यालय बन्द गरेर आन्दोलन सुरु गरेका संस्थाका कर्मचारीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका हन् । 

संस्थाको व्यवस्थापन पक्षले आन्दोलनलाई निकास दिनुको साटो उल्टै माहोल बिग्रनेगरी पत्र पठाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका हुन् । 

आफ्ना माग पूरा नभएको र कर्मचारीमाथि विभेदपूर्ण व्यवहार भएको भन्दै बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले बैशाख ३ गतेदेखि लघुवित्तका शाखा कार्यालय बन्द गरेर आन्दोलन सुरु गरेको थियो । तर, आन्दोलनको समाधान खोज्नुको साटो व्यवस्थापनले धम्कीपूर्ण शैलीमा पत्र पठाएको संस्थाका एक कर्मचारीले बताएका छन् । ‘पटकपटकको माग र सम्झौता कार्यान्वयन नभएपछि हामीले आन्दोलन सुरु गरेका हौँ । तर व्यवस्थापनले हाम्रो माग सम्बोधन गर्नै चाहेन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने, ‘बरु उल्टै धम्कीपूर्ण शैलीमा शाखा खोल्न पत्र पठायो । हाम्रा माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन ।’ 

त्यस्तै, उनीहरुले संस्थाको व्यवस्थापन पक्षले पठाएको पत्रमा भनिएजस्तो कुनै व्यक्ति वा हुलहुज्जतले जबरजस्ती तालाबन्दी नगरेको बरु, कर्मचारी युनियनको नेतृत्वमा कार्यालय प्रमुख तथा सबै कर्मचारीहरुको समर्थनमा तालाबन्दी गरेर आन्दोलन गरेको प्रष्ट पारेका छन् । साथै, जबरजस्ती ताला फुटाएर काम गर्न संस्थाले दिएको निर्देशन गलत भएकोले यसले निम्त्याउन सक्ने परिणामको जिम्मेवारी स्वयम् संस्थाको व्यवस्थापन पक्ष हुने उनीहरुले बताएका छन् । 

संस्थाको पत्रमा के छ ? 
२०८० बैशाख ६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले हस्ताक्षर गरेको पत्रमा नेरुडेमा केही कर्मचारी र केही व्यक्तिहरुले हुलहुज्जतका साथ शाखा कार्यालयमा जबरजस्ती तालाबन्दी गरेको उल्लेख छ । 

यसरी जबरजस्ती कार्यालयमा तालाबन्दी गरेर सेवा अवरुद्ध पार्नू आपराधिक गतिविधि भएको भन्दै संस्थाका सीईओ बस्यालले सम्बन्धित कार्यालयहरुलाई तत्काल सेवा सञ्चालन गर्न परिपत्र गरेका थिए । 

तर, उक्त पत्रमा भनेजसरि शाखा कार्यालयमा जबरजस्ती तालाबन्दी नगरिएको भन्दै आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म कुनै पनि हालतमा आन्दोलनका कार्यक्रम नरोक्ने चेतावनी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: