×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार्टर्ड एकाउन्टेन्टस् संघको निर्वाचन ‘विवाद’ : दिल्लीमा रहेका सिएको नाममा नेपालमा कसले हाल्यो ‘फर्जी भोट’ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चार्टर्ड एकाउन्टेन्टस् संघको निर्वाचन ‘विवाद’ : दिल्लीमा रहेका सिएको नाममा नेपालमा कसले हाल्यो ‘फर्जी भोट’ ?

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । फर्जी मत खसेको ‘हल्ला’पछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)का सदस्यले मतदाताहरुको ‘उपस्थिति पुस्तिका’ माग गरे पनि निर्वाचन अधिकृतले सो उपस्थिति पुस्तिकाको विवरण दिन अस्वीकार गरेका छन् । सिए सविन कार्की र सिए मिनार ढकालले संघमा लिखित निवेदन दिएर सो उपस्थिति पुस्तिका माग गरेको भए पनि माग बमोजिम सो उपस्थिति पुस्तिका नपाएका हुन् । गोप्य भन्दै सो उपस्थिति पुस्तिका आफुहरुलाई नदिईएको उनीहरुको भनाई छ ।

‘निर्वाचन अधिकृतले सो उपस्थिति पुस्तिका दिन मान्नु भएन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक सिएले भने, ‘गोप्य भन्दै हामीलाई सो उपस्थिति पुस्तिका दिईएन । हाम्रो संघमा कसकसले भोट हाल्यो भन्ने विषय किन र कसरी गोप्य भयो बुझ्न सकिएन । त्यो त हाम्रो अधिकार हो ।’
ती सिएका अनुसार उपस्थिति पुस्तिका निर्वाचन अधिकृतले नदिए पनि फर्जी मत हाल्नेहरुको सुराकी संघमा पुगिसकेको छ । ‘हालसम्म १२ वटा मत फर्जी भएको प्रारम्भिक सूचनासहितको जानकारी संघका अध्यक्षलाई दिईसकेका छौँ । अचम्मको कुराचाहिँ अध्यक्ष दीपक पाण्डे स्वयम् यो विषयमा सिरियस देखिनुभएन ।’
ज्यान भारतमा, मत नेपालमा !
भारतमा रहेका *** रोकाया नाम गरेका व्यक्ति (छानविनको विषय भएकाले नाम गोप्य राखिएको)को मत नेपालमा अर्कैले हालेको देखिएको ती सिएको दाबी छ । ‘फोटो खिच्न नपाए पनि साथीहरुले लिष्ट हेरे । भारतमा रहेका सिएले नेपालमा भोट हालेको देखिएको छ ।’
उनले नाम भनेका ती सिएलाई अर्थ सरोकारले तपाईं मतदानको दिन कहाँ हुनुहुन्थ्यो भनेर प्रश्न गरेको थियो । जवाफमा उनले आफु सो दिन भारतमै रहेको र आफु एक्यानको निर्वाचनमा मतदान गर्न नगएको स्पष्ट पारेका छन् । ‘आज मेरो नाममा भोट हाल्नेले भोलि किर्ते अडिट रिपोर्टमा सहि गर्ला । यो इथिकल काम भएन ।’ ती सिएले अर्थ सरोकारसँग भने, ‘म भोट हाल्न नेपाल गएको छैन ।’
यता निर्वाचन गराएका संघका कार्यसमितिका अध्यक्ष सिए दीपक पाण्डेले यस विषयमा आफु बोल्न नमिल्ने बताए । ‘निर्वाचनको सबै जिम्मा निर्वाचन अधिकृतलाई दिईएको थियो । त्यसैले यस विषयमा म केहि बोलिन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सिए पाण्डेले भने, ‘यस विषयमा मैले बोल्न मिल्दैन ।’
यता निर्वाचन अधिकृत भने यो समाचार तयार गर्दा फोन अफ गरेर बसेका छन् । बुधबार विहान यस विषयमा जिज्ञासा राख्दा निर्वाचन अधिकृत गोपाल श्रेष्ठले निर्वाचनमा केहि विवाद उत्पन्न हुनु सामान्य विषय रहेको बताएका थिए ।
छानविन समिति नबने अदालत जाने सिएहरुको तयारी 

निर्वाचनमा उठेका उम्मेदवारहरुमध्येका केहिले निर्वाचनमा फर्जी मत हाल्नेहरुको संख्या १२ बढी देखिएको दाबी गरेका छन् । उनीहरुले आफुले संघको आधिकारिक धारणा पर्खेको र यस विषयमा संघ उदासिन भए अदालत जाने तयारी गरेकोसमेत बताएका छन् । ‘हालसम्मका अध्यक्ष दीपक पाण्डेले छानविन समिति गठन गर्नसमेत मान्नुभएको छैन । यो निर्वाचन उहाँ अध्यक्ष रहेको कार्यसमितिले गराएको हो । निर्वाचन अधिकृतलाई देखाएर यसबाट उम्किन मिल्दैन ।’ ती सिएले अर्थ सरोकारसँग भने, ‘कसकसले निर्वाचनमा भाग लिए भन्ने जानकारीसमेत दिन नमान्नु भनेको धाँदली थियो भन्ने कुरालाई जोड दिनु हो । हामीले अध्यक्षलाई पनि छानविन समिति बनाउन भनेका छौँ । तर उहाँ स्वयम् पुन: निर्वाचन गर्नुपर्ने झमेला आउने देखेर छानविन समिति बनाउन मानिरहनुभएको छैन । अध्यक्षले छानविन समिति नबनाए, हामी केहि साथीहरुले अदालत जाने तयारी गरेका छौँ ।’

संघले भने बिहीबार बेलुकी होटल एभरेष्टमा सपथ कार्यक्रम राखेको छ । सिएहरुको ठुलो समूहले भने फर्जी मतको अनुसन्धान नहुँदासम्म संघको कार्यसमितिलाई ‘आफ्नो कार्य समिति’ भन्न नसकिने भन्दै सो कार्यक्रम बहिष्कार गर्ने बताईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: