×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काला कांग्रेसी लामाको कालो कर्तुत, बुढाबुढी मिलेर सहकारीको ८ अर्ब हिनामिना… (भिडियो ब्रिफिङ) 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काला कांग्रेसी लामाको कालो कर्तुत, बुढाबुढी मिलेर सहकारीको ८ अर्ब हिनामिना… (भिडियो ब्रिफिङ) 

२१ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । सीबी लामा, सहकारी ठगेर चितवनमा मोज गरेर बसेका एक फरार अभियुक्त । अझ भन्दा जनताको अरवौं ठगेर कहिले चितवन, कहिले धादिङ्ग गरेर मस्तीको जिन्दगी बिताईरहेका थिए लामा । तर जनताको अरबौं ठगेर कहिलेसम्म भाग्नु ? आखिर पुलिसले समाईहाल्यो, र आज सार्वजनिक गर्यो । यति हुँदा पनि ती सीबीको कन्फीडेन्स यस्तोसम्म देखियो कि के भन्ने । न अलिकति आत्मग्लानि, न अलिकति अफ्ट्यारोपन । अझ निर्धक्क भन्दै थिए, राम्रोसँग फोटो खिच्नूस

सीबी लामा भागेर चितवन पुगेको खबर प्रहरीसँग थियो । सानदारको फ्ल्याट लिएर चितवनमा मस्ती गरिरहेका सीबी उनै सहकारी ठग हुन्, जसले हजारौं बचतकर्ताको बिल्लीबाठ बनाएका थिए । त्यसपछि प्रहरीले अन्तत उनलाई पक्राउ गर्यो र सार्वजनिक गर्यो । यसै पनि अनुहार देखाउन लायक नदेखिएका उनी मास्कको औपचारिकतामा संचारकर्मीमाझ प्रस्तुत भए । गल्ती भयो भन्ने अलिकति पनि भान भएको नदेखिएका उनलाई प्रहरीले केही दिन अघि पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

जनताको यति धेरै पैसा झ्वाम पार्ने सीबी लामा आखिर को हुन् ? 
सीबी लामा कुनै बेलाका सरकारी जागिरे हुन् । काभ्रेपलाञ्चोकमा राम्रै रजगज गरेका उनले केही समय विद्यार्थी राजनीति पनि गरे । तर राजनीतिभन्दा बढी सहकारीमा फाइदा देखेपछि उनी २०५५ सालमा सहकारीमा लागे ।   

सहकारीबाट मालामाल हुने देखेपछि २०६५ सालमा उनले आफ्नै श्रीमतीको नेतृत्वमा  पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको स्थापना गरे । सुमेरुमा सुरिएका उनले पछि कान्तिपुर सहकारी खोले । दुवै सहकारीमा जम्मा भएको पैसाले उनले घरजग्गाको कारोबार गरे । त्यसबाट राम्रै फाइदा हुन थालेपछि हौसिएका उनले पछि सहकारीको पैसा  अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगाए । यसरी विभिन्न ठाउँमा लगानी गरेका उनले पछि बचतकर्ताको पैसा फिर्ता गर्न सकेनन् । यसको मुख्य कारण घरजग्गामा आएको मन्दी थियो । घरजग्गामा फसेको रकम फिर्ता गर्न नसकेपछि उनको अन्य व्यापार व्यवसाय पनि समस्यामा पर्यो । त्यसपछि न बचतकर्ताले बचत फिर्ता पाए, न उनको आर्थिक कारोबारको व्यवहार नै मिल्यो । त्यसपछि त उनी भागेर हिड्नुपर्ने अवस्था आयो, यता सहकारी टाँट पल्टियो ।   

सीबी लामा कांग्रेस निकट नेता हुन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिदेखि महासमिति सदस्य समेत भइसकेका उनी राजनीतिक शक्तिको आडमा जनताको पैसामाथि ब्रह्मलुट मच्चाईरहेका थिए ।र उनी अन्ततः पक्राउ परेका छन् । 

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा गरी बचतकर्ताको झण्डै ८ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका तत्कालीन अध्यक्ष लामाले सहकारीको रकम हिनामिना गरेको तथा आफ्नै बचत माग्दा पनि नदिएको भन्दै सहकारीका ८ सय ५२ जना बचतकर्ताले गत फागुनमा लामाविरुद्ध उजुरी दिएका थिए । तर, प्रहरीले पक्राउ गर्ने डरले लामा त्यसबेला फरार भएका थिए । पाप धुरीबाट कराउँछ भनेझैँ लामाको पक्राउ परि छाडे । प्रहरीका अनुसार लामाले कान्तिपुर सहकारीको ६ अर्ब ७८ करोड र पशुपति सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको १ अर्ब ११ करोड ४८ लाख गरी कुल ८ अर्ब हिनामिना गरेको देखिएको छ ।

यसअघि प्रहरीको फरार सूचीमा रहेका लामाले चितवनमा फ्ल्याट भाडामा लिएका थिए । एकै ठाउँमा बस्दा प्रहरीले ट्रयाक गर्ने सम्भावना बढी हुँदा उनी चितवन र धादिङमा डेरा परिवर्तन गरिरहन्थे । हेर्दा सामान्य र भलाद्‌मी देखिने लामाको कर्तुत कसैले चिन्न सकेन, प्रहरी खोजिरह्यो, उनी भागिरहे । तर, उनी अन्ततः प्रहरीको फन्दामा परेका छन् । अब लामाको बास जेलमा हुनेछ । यसो त लामामाथि सहकारी ठगी मात्र होइन, ४/४ वटा बैंकिङ कसुरका मुद्दा रहेको जसमध्ये ३ वटा मुद्दामा उनी प्रहरीको फरार सूचीमा रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामाले सहकारीबाट हिनामिना गरेको पैसा होटल, कलेज र अस्पतालमा लगानी गरेको देखिएको छ ।

हाल पक्राउ परेका लामा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर काभ्रेपलान्चोक क्षेत्र नम्बर (१) को प्रदेशसभाको निर्वाचनमा पराजित भएका व्यक्ति हुन् । यसअघि बीपी पुत्र शशाङ्क कोइरालाको नाम भजाएर जोगिँदै आएका लामा अहिले भने प्रहरीबाट जोगिन सकेनन् । बचतकर्ताले दिएको उजुरीका आधारमा अनुसन्धानपछि १ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ अपचलन गरेको भन्दै सहकारीका अध्यक्ष हिमालयन बिक्रम मल्ल ठकुरी र लामासहित ११ जनालाई प्रतिवादी बनाइएको थियो । ठकुरीलाई प्रहरीले गत फागुनमै पक्राउ गरेको थियो । सोही मुद्दामा लामा पक्राउ परेपछि अब उनीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ, सहकारी ठगी प्रकरणमा मुद्दा चल्नेछ र सहकारीको रकम हिनामिना गरेको प्रमाणित भए उनी जेल जानेछन् । ढिलोचाँडो बचतकर्ताको रकम सञ्चालकको सम्पत्ति बेचेर भए पनि फिर्ता गरिनेछ ।

लामासहित उनको टिमले उदण्ड मच्चाएपछि संकट उन्मुख दुवै सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभलाई गत साउन १ गते समस्याग्रस्त घोषणा गरिएको हो ।

ऋणधन गरेर खोलेको सानो व्यवसाय र त्यही व्यवसायबाट भएको खुद्रा आम्दानीलाई खाइनखाई सुकामोर जोडेर जम्मा गरेको धेरथोर पैसा सीबी लामाले खोलेको सहकारीले पूरापूर हिनामिना गर्यो । सहकारीमा पैसा जम्मा गर्ने हुने खानेले भन्दा हुँदा खानेले हो । आर्थिक अवस्था ठिक छ, आम्दानीको स्रोत अरु पनि छन् भने त्यति धेरै असर नगर्ला ।  तर, त्यही सहकारीमा जम्मा गरेको पैसाको आड भरोसामा बसेकाहरुको त सर्वश्व लुटिन्छ । देशमा एउटा सहकारी भागेको खबरले हजारौँ बचतकर्ताको सातो लैजान्छ । अझ महिनौँसम्म पनि रकम हिनामिना गरेर भागेकाहरुको अत्तोपत्तो नहुँदा रकम डुबेको पीरले पिल्सिएका बचतकर्ता झन् पिरोलिन्छन् । र त आफ्नो परिश्रम डुबेको पीरमा बेलाबेलामा सहकारीका कार्यालय फोडिन्छन्, कतिपय अवस्थामा कर्मचारी कुटिन्छन् पनि ।

अहिले सहकारीको समस्यालाई सरकारले प्राथामिकताका साथ लिएको छ । सहकारी ठगी प्रकरणमा सानादेखि ठूला राजनीतिक पहुँच भएकाहरुको समेत संलग्नता देखिन थालेपछि संसदीय छानबिन समिति नै बनाइएको छ । अब उक्त समितिले कसरी अनुसन्धान गर्छ र सहकारीको मुकुड लगाएर ठग्नेहरुको मुकुड उदाङ्गो पार्छ ? त्यो भने हेर्न बाँकी नै छ । किनकि च्युराले कुरा भिज्दैन । जनतालाई नेताको कुरा भन्दा पनि सहकारीमा फसेको आफ्नो बचत फिर्ता चाहिएको छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: