Skip to content
LAXMI SUNRISE BANK

वात्सल्यले स्वास्थ्य मन्त्रालयको निर्देशनविपरीत ‘गैरकानुनी’ सेवा दिइरहेको खुलासा, साखा बन्द हुने, डाक्टरलाई कारवाही !

अर्थ सरोकार

काठमाडौँ । सन्तान नभएर पीडामा परेका दम्पतीलाई सन्तान हुनेगरी उपचार गर्ने भन्दै चलिरहेको वात्सल्य नेचुरल आईभीएफले खोलेका विभिन्न साखाहरुनै गैरकानुनी रहेको खुलासा भएको छ । प्रचलित जनस्वास्थ्य सेवा नियमावली विपरित साखाहरु विस्तार गरेर सो कम्पनीले गैरकानुनी रुपमा सेवा दिइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले कम्पनीका साखाहरुबारे ध्यानाकर्षणसहितको पत्राचार पत्राचार गरेपछि सो उपचार केन्द्र गैरकानुनी रुपमा चलिरहेको खुलासा भएको हो ।

प्रचलित कानुन विपरित विभिन्न ठाउँमा शाखा खोलेर कानुनकै धज्जी उडाएको सो कम्पनीलाई सो शाखाहरु बन्द गर्न निर्देशन दिईदा पनि अटेरी गरेपछि अव सो शाखा बन्द गर्न कडा कदम चाल्ने र सो गैरकानुनी क्लिनिकमा काम गर्न जाने डाक्टरहरुलाई समेत मेडिकल काउन्सिलमार्फत कारवाहीको तयारी गरिएको मन्त्रालयका अधिकारीहरूको भनाई छ । वात्सल्यले विना स्वीकृति विभिन्न ठाउँमा निसन्तान दम्पतीलाई सन्दान जन्माउन सहयोग गर्ने भन्दै शिविरसमेत सञ्चालन गर्दै आएको छ । जवकि सो कम्पनीले काठमाडौँस्थित नक्सालमा क्लिनिक संचालनका लागि मात्र अनुमति पाएको छ । यहि गलत काम गरेको भन्दै वात्सल्यको सो कामलाई  मन्त्रालय मातहतको नियमन महाशाखालेसमेत गम्भीर रुपमा लिएको छ ।  

‘वात्सल्यले जे गरिरहेको छ, सो काम पूर्णत: गैरकानुनी छ । यसरी स्वीकृति नै नलिई शाखाहरु खोल्न मिल्दैन ।’ स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘ यो काम पूर्णत: गैरकानुनी हो । वात्सल्यलाई चितवन र भक्तपुर लगायतका ठाउँमा खोलिएका नयाँ शाखाहरु बन्द गर्नेगरी आवश्यक पत्राचार भइसकेको छ।’

ती अधिकारीका अनुसार पत्र अनुसारको काम नभए स्थानीय प्रशासन लगाएर सो साखाहरु सिलबन्दी गर्नेसम्मको तयारी गरिएको छ । ‘कानुनी रुपमा प्रक्रिया पूरा नगरी खोलिएका शाखाहरुले कि कानुनी प्रक्रिया पूरा गर्नुपर्थ्यो, कि अव बन्द हुन्छ । अटेरी गरे प्रशासन लगाएर भए पनि ती शाखा बन्द गराउने तयारी छ।’

ती अधिकारीहरुले त्यसरी गैरकानुनी रुपमा खुलेका क्लिनिकमा जाने डाक्टरहरुलाईसमेत कारवाही हुने दाबी गरेका छन् ।  ‘मन्त्रालयले जेठ ८ गते पत्र पठाउँदै स्वीकृति नलिई सञ्चालनमा रहेका कानुनी प्रक्रिया पूरा गर्न नभए कारबाही गर्न भनिसकेको छ । वात्सल्यले कानुनी प्रक्रिया पूरा नगरेको देखिएको छ । त्यसैले ती साखाहरु बन्द हुन्छन् । त्यस्तो क्लिनिकमा जाने डाक्टरहरुलाई समेत मेडिकल काउन्सिलमार्फत कारवाही गर्न आवश्यक प्रक्रिया अगाडि बढ्दैछ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने । 

वात्सल्यले काठमाडौंको नक्साल बाहेक अन्य ठाउँमा क्लिनिक सञ्चालनका लागि स्वीकृति पाएको छैन । तर सो कम्पनीले भक्तपुर, चितवन, बुटवल र ललितपुरमा लगायतका ठाउँमा शाखा संचालनमा ल्याएको छ । बालेनले तुरुन्त एक्सन लिने डरले सो कम्पनीले काठमाडौँ महानगरभित्र भने थप शाखा सञ्चालनमा ल्याएको छैन ।

यस्तो गलत काम गरेर कम्पनीले निसन्तान दम्पतीलाई सन्तान जन्माउन सहयोग गर्ने भन्दै चर्को प्रचारप्रसार गरिरहेको छ । यस विषयमा बुझ्न सम्पर्क गर्दा वात्सल्यका कर्मचारीले भने शाखा बन्द हुने भन्ने विषय आफुले पनि सुनेको तर थप थाहा नभएको दाबी गरे । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK