काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १४६.०३ प्रतिशत बढेको हो ।
यसअवधिमा कम्पनीले ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २७.५२ प्रतिशत बढेको छ भने कम्पनीको कुल आम्दानी ३०.१८ प्रतिशतले बढेको छ । त्यस्तै, यही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३३.६२ प्रतिशत र कुल खर्च २८.२३ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार असार मसान्तसम्म कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा कम्पनीको ईपीएस ४ रुपैयाँ ३७ पैसाले बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ भने मूल्य आम्दानी अनुपात ५४.३४ गुणा रहेको छ ।