काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारी हप्काउन थालेका छन् । दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का कार्यकर्ता हौँ भन्दै बैंक बैंकमा पुगेर प्रसाईंका कार्यकर्ताले बैंकर धम्काउन थालेका हुन् ।
यसरी हुल बाँधेर प्रसाईंका कार्यकर्ता हौँ भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पुगेर कर्मचारीलाई हप्काएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
जुन भिडियोमा आफू दुर्गा प्रसाईंको महाअभियान अन्तर्गत ऋणी एशोसियसनको जिल्ला संयोजक बताउने विक्रम दासले बैंकका कर्मचारीलाई हप्काएको स्पष्ट सुन्न/देख्न सकिन्छ । अझ यतिसम्म कि उनीहरुले बैंकका कर्मचारीलाई तस्करको मतियार भन्दै थर्काएका छन् ।
‘मतियारको शाब्दिक अर्थ अर्को के हो ? थाहा छैन । तर, हामीलाई दुर्गा दाइले मतियार भन्न सिकाउनु भएको छ । मैले त्यसरी नै प्रशिक्षण पाएको छु ।’, ती व्यक्तिले बैंकका कर्मचारीलाई हप्काउँदै भनेका छन्, ‘तपाइँहरु तस्करको मतियार हो ।’
त्यस्तै, ती व्यक्तिले बैंकका कर्मचारीले कमाइदिएर तस्करलाई दिने र तस्करले सो रकम विदेश पलायन गराउने गरेको पनि आरोप लगाएका छन् ।