काठमाडौँ । बुधबार पोखराबाट काठमाडौँ आउनका लागि एक ग्राहकले इसेवामार्फत टिकट काटे । उनले हेरेरै बेलुकीको समयको टिकट काटेका थिए । इसेवाबाट आएको मेसेज पनि उनले खासै ख्याल गरेनन्, किनकी उनले इसेवामा टिकट काट्दा यतिसम्म हुन्छ भन्ने सोचेकै थिएनन् । तर, जब बिहान एयरपोर्टबाट फोन आयो र प्लेन उड्न लागेको भनियो, उनी छक्क परे । बेलुकीको टिकट काट्दा बिहानको कसरी काटियो भन्नेमा उनी छक्क परे ।
त्यसपछि उनले इसेवामा फोन गरे । इसेवाका सपोर्टका कर्मचारीले केही गर्न नसकिने बताए । त्यसपछि ती ग्राहकले यति एयरलाइन्समा फोन गरे । यतिका कर्मचारीले इसेवाबाट हुने गल्तीले आफूहरू हैरान भएको भन्दै सो टिकट बेलुकीकै फ्लाइटमा सारिदिए । ती यात्रु त्यसपछि बेलुकीको फ्लाइटमा काठमाडौँ आए । यो सबै घटनाको प्रमाण अर्थ सरोकारसँग सुरक्षित छ ।
आन्तरिक हवाइ उडानमा मात्र होइन, अन्तराष्ट्रिय उडानमा पनि इसेवाको समस्या यस्तै छ । मोरङका गोपाल भण्डारीले रोजगारीका लागि युएई जानका लागि अक्टोबर २१ मा इसेवा वालेट प्रयोग गरेर टिकट काटे । ५५ हजार रुपैयाँ तिरेर उनले इन्डिगो एयरलाइन्सको उडान नम्बर 6E-1158 भएको टिकट काटेका थिए ।
तर, उनी जब टिकट बोकेर एयरपोर्ट पुगे, उनको टिकट क्यान्सिल भइसकेको भनियो । त्यसपछि उनले इसेवामा कल गरे । इसेवाका कर्मचारीले टिकट बुक भएको दोस्रो दिन नै क्यान्सिल भएको बताए ।
यी त प्रतिनिधि घटना मात्र हुन् । इसेवाबाट टिकट काट्नेहरुले थुप्रैपटक यस्ता झन्झट ब्यहोरिरहेका छन् । बेलाबेला प्ले स्टोरबाटै हराउने इसेवाले ग्राहकका यस्ता मर्कालाई सम्बोधन गर्ने गरेको छैन । बरु, उल्टै आफूहरूले केही गर्न नसक्ने र अर्को टिकट काट्नुपर्ने भन्दै धम्कीपूर्ण भाषा बोल्दै आएको छ ।
चौतर्फी गुनासो बढेपछि हामीले इसेवाका सिइओ अजेश कोइरालालाई फोन गर्यौं । तर, उनले हाम्रो फोन नै उठाएनन् ।
यसरी इसेवामा दिनहुँ समस्या आउन थालेपछि ग्राहकहरु अन्य वालेटतर्फ आकर्षित हुन थालेका छन् । इसेवामा समस्या देखिएपछि अन्य वालेटबाट टिकट काट्नेहरुको फ्लो बढेको छ भने इसेवाबाट टिकट काट्नेहरुले पनि एक पटक आफ्नो टिकट सहि समयमा बुक भएको छ कि छैन भन्ने भेरिफाई गर्न थालेका छन् ।