काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुरको सुमेरु सहकारी, काठमाडौँको लालीगुराँस सहकारी र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको हो ।
समितिले ३५ दिनभित्र सहकारीबाट ऋण लिएका ऋणीलाई सहकारीबाट लिएको ऋणको साँवा र ब्याजसहित भुक्तानी गर्न भनेको छ । यी तीनवटै सहकारीलाई बागमती प्रदेश सरकारले गत पुष २८ गते समस्याग्रस्त घोषणा गरेको थियो ।
समितिले तोकेको समयभित्र ऋणको साँवा र ब्याज भुक्तानी नगर्ने ऋणीको अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न नपाउनेगरी चल अचल सम्पत्ति रोक्का राख्ने र कालोसूचीमा राख्ने चेतावनी दिएको छ । समितिले गत सोमबार तीनवटै सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात एवम् सम्पत्ति समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न र कुनै पनि कारोबार नगर्न निर्देशन दिएको थियो ।