काठमाडौँ । एनएमबि बैंकको सिष्टममा आएको प्राविधिक समस्याका कारण ग्राहकका खाताबाट करोडौं रुपैयाँ चोरी भएको खुलासा भएको छ । बैंकले सिष्टम अपग्रेडेसन गर्दा सिष्टममा देखिएको समस्याका कारण सो बैंकमा रहेका ग्राहकहरुको करोडौँ रुपैयाँ खाताबाटै चोरी भएको हो ।
रकम चोरी गर्नेको विवरण बैंकले ट्रयाक गरीसकेको छ चोरिएको रकम पुगेको खाताहरुमध्ये केहि खाता रोक्का गरेर कानुनी उपचार थालेको छ । यद्यपी यो प्रकरणले एनएमबि बैंकको सिष्टम कुन हदसम्म असुरक्षित रहेछ भन्ने तथ्य प्रमाणित भएको छ ।
कसरी चोरियो रकम ?
केहि दिनअघि बैंकले आफ्नो सिष्टम अपग्रेडेसन गर्दा बैंकको सिष्टममा समस्या आयो । सो समस्याले स्थिति यस्तो बन्यो कि बैंकका कतिपय पैसा नै नभएका खातामा लाखौँ रुपैयाँ देखियो । आफ्नो खातामा लाखौँ रुपैयाँ भएको देखेपछि ग्राहकहरुले सो रकम आफ्नो अन्यत्र बैंकमा सारे । पछि हेर्दा त्यसरी कुनै एक ग्राहकले आफ्नो अर्को बैंकमा सारेको रकम बैंकमा रहेका अन्य खातावालाहरुको थियो । अर्थात, एउटाको रकमको विवरण अर्कोको खातामा मात्र देखिएन, त्यसलाई ट्रान्सफर गर्नसमेत मिल्यो । यसले पैसा भएकाको खाताबाट रकम हरायो भने पैसा नै नभएकाको खातामा रकम देखिँदा रकम देखिएका खातावालाहरुले सो रकम आफ्नो अन्यत्र बैंकमा सारे ।
माघ १० गते मोबाइल बैंकिङमा हुँदै नभएको पैसा देखिएको र सो रकम ट्रान्सफरसमेत गर्न मिलेको भन्दै खातावालाहरुले आफ्ना साथीभाइहरुलाईसमेत खबर गरेपछि अरुले पनि त्यसरी नै पैसा सारे । एक पटकमा ३ लाख रुपैयाँ गरेर खातावालहरुले पैसा ट्रान्सफर गरेको पाइएको छ । कतिपय ग्राहकले त राती १२ बजेसम्म ३ लाख र त्यसपछि पुन:३ लाख गरेर ६ लाख रुपैयाँसम्म बैंकको खातामा देखिएको रकम अन्यत्र सारेको पाइएको छ ।
यसरी सारिएको रकममध्ये, केहिले खर्च गरेको पाइएको छ भने केहिले भने धेरैले यस्तो रकम आफ्नो अर्को बैंकमा रहेको खातामा राखेको पाइएको छ । केहिलाई प्रहरीको डर देखाएर र कतिलाई प्रहरीमा केस नै गरेर बैंकले रकम फिर्ता गरेको छ । यद्यपी केहि खातावालाहरु रकम खर्च गरेर फरार छन् भने केहि विदेशमा रहेकाले बैंकले सो रकम फिर्ता गर्न सकेको छैन । घटना गुपचुप राख्न बैंकले पैसा हराएका खातामा पैसा राखिदिएको छ भने बैंकको हराएको पैसाको हिसाब मिलेको छैन ।
बैंकले स्वीकार्यो बैंकबाट पैसा चोरी भएको तथ्य !
बैंकले आफ्नो सिष्टममा समस्या आउँदा ग्राहकको रकम चोरिएको स्वीकारेको छ । बैंकका डेपुटी सिइओ सुदेश उपाध्यायले बैंकको सिष्टम अपग्रेडेसनका क्रममा समस्या देखिँदा पैसा नै नभएका खाताहरुमा पैसा देखिएको र सो रकम सम्बन्धित खातावालाहरुले अन्य खातामा ट्रान्सफर गरेको स्वीकार गरे । ‘सिष्टम अपग्रेड गर्दा एउटा समस्या देखिएको थियो । सो समस्याका कारण पैसा नभएका खाताहरुमा पनि पैसा देखियो । त्यसपछि ग्राहकले आफ्नो हुँदै नभएको पैसा अन्य खातामा ट्रान्सफर गर्नुभएछ ।’उपाध्यायले अर्थ सरोकारसँग भने, ‘धेरै पैसा फिर्ता भईसकेको छ । करिव ९० प्रतिशत खाताहरु ट्रयाकसमेत भईसकेको छ । बाँकी रकम फिर्ता गर्ने बाटोमा छौँ ।’
उपाध्यायले बैंकको सिष्टममा भएको समस्याकै कारण ग्राहकको पैसा अन्य ग्राहकले चोरेको तथ्य पनि स्वीकारे । ‘बैंकको सिष्टममा समस्या भएकै कारण यस्तो चोरी भएको सत्य हो ।’ अर्थ सरोकारसँग उपाध्यायले भने, ‘तर सबै पैसा फिर्ता आउँछ, यो कुरामा हामी ढुक्क छौँ ।’
उनका अनुसार ग्राहकले पैसा सारिरहेको कुरा पत्ता लागेपछि एक रातमै सो समस्या समाधानसमेत गरिएको थियो ।
तर बैंकले बैंकको सिष्टम असुरक्षित छ भन्ने तथ्य बाहिर आउँदा हुने रेपुटेसन रिस्कका कारण यो घटनाको जानकारी नेपाल राष्ट्र बैंकलाईसमेत नदिएको पाइएको छ ।
`सबै खातावालको खाता रित्तिने जोखिम´: प्रविधि विज्ञ
एनएमबि बैंकमा भएको घटनाले बैंक प्राविधिक रुपमा निकै जोखिमपूर्ण अवस्थामा रहेको र यस्तो अवस्थामा कुनै पनि बेला खातावालाको रकम रित्तिने जोखिम रहेको प्रविधि विज्ञहरु बताउँछन् । ‘ह्याकरले चोर्नु फरक कुरा हो । यहाँ त बैंकले नै ढोका खुल्लै राखिदिएर ह्याकरलाई निम्तो गरेजस्तै देखियो । पैसा नै नभएका खातामा पैसा देखियो र सो रकम सार्न पनि मिल्यो भन्नुको अर्थ एनएमबि बैंकको खातामा रहेको रकम कुनै पनि बेला रित्तिन सक्ने जोखिम देखियो ।’ प्राविधिक विषयका जानकार गोपाल प्रसाद प्याकुरेलले अर्थ सरोकारसँग भने, ‘बैंकको सिष्टममा यस्तो समस्या आउनु निकै गम्भीर कुरा हो । त्यसमाथि पनि बैंकले यो घटना लुकाउनुले थप शंका गर्ने ठाउँ दिएको छ । अझ यो त एउटा घटना पत्रकारले खोजेर पत्ता लगाएको घटना भयो । यस्ता घटना थुप्रै हुन सक्छन् ।’
बैंकका कर्मचारी भन्छन्- ‘थुप्रै पटक यस्तो भएको छ, ग्राहकले थाहा नपाएर मात्र हो’
यता एनएमबि बैंकका कर्मचारीहरुले यस्तो घटना पटक पटक बैंकमा भएको र ग्राहकले थाहा नपाएकोले मात्र बैंक बचिरहेको दाबी गरेका छन् । माघ १० गते भएको घटनाबारे अर्थ सरोकारलाई गोप्य रुपमा जानकारी दिएका बैंकका एक उपल्लो तहका कर्मचारीले यस्तो घटना बैंकमा पटक पटक भएको र प्राविधिक रुपमा बैंकको सिष्टम निकै असुरक्षित रहेको बताएका छन् । ‘सिष्टममा समस्या छ भन्ने थाहा पाएका हामी कतिपय कर्मचारीले तलव आउनेबित्तिकैसमेत अर्को खातामा पैसा सार्छौं । एनएमबिको सिष्टमसँग हामीलाई नै भर छैन ।’