काठमाडौँ । बीमाको रकम हत्याउन एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको पाइएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटकी जानकी कुमारी रानाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् ।
उनले आफ्नो प्रेमीसँग मिलेर मंसिर १३ गते ४९ वर्षीय आफ्नै श्रीमान सियाराम रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा जानकीले बीमाको रकम हत्याउनका लागि प्रेमीसँग मिलेर रानाको हत्या गरेको खुलेको छ । श्रीमानको हत्या आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा जानकीले बीमा बापतको रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकारेकी छिन् ।
यद्यपि सुरुमा जानकीले शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । मृतक सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए ।