Skip to content
LAXMI SUNRISE BANK

 बैंकलाई बुझाइएको अचम्मको राजिनामा पत्र- ‘धन्न म ३ वर्ष टिकेछु, बैंकलाई पशुपतिनाथको कृपा रहोस्’  

अर्थ सरोकार

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकको संखुवासभास्थित खाँदबारी शाखामा कार्यरत कर्मचारी बिराज पौडेलले बैंकबाट राजिनामा दिएका छन् । उनले बैंकको टर्चर सहन नसकेपछि राजिनामा दिएको उल्लेख गरेका छन् । 

पौडेलले पुष २६ गते (शुक्रबार) बैंकबाट राजिनामा दिएका हुन् । बैंकबाट राजिनामा दिँदै उनले बैंकले दिएको टर्चर सहन नसकेपछि राजिनामा दिएको बैंकका अन्य कर्मचारी, व्यवस्थापन र बैंकका सम्पूर्ण विभागलाई इमेलमार्फत जानकारीसमेत गराएका छन् । तर, उनले बैंकमा बुझाएको राजिनामा पत्र भने अचम्मको छ । 

उनले बैंकको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र कुमर कट्टेलले सम्हालेपछि बैंकका कर्मचारी मानसिक तनावको सिकार भएको, अनावश्यक र अपायक सरुवा भएको, वर्षौंदेखि काम गरिरहेका कर्मचारीहरुको बढुवाको कुनै संकेत नदेखिएको, आवश्यकता भन्दा बढी काममा पेलेको, कर्मचारीको श्रम शोषण भएको लगायतका विषय उल्लेख गरेका छन् ।

यतिसम्म कि उनले बैंकको उच्च पदस्थले कर्मचारीलाई लाज, घिन, सरम, कप्टिपन सबै पचाएर अमानवीय व्यवहार गरेको पनि उल्लेख गरेका छन् । पौडेलले बैंकमा बुझाएको राजिनामा पत्रमा बैंकको उच्च पदमा रहने कोहीसँग पनि आफ्नो व्यक्तिगत, पारिवारिक सम्बन्ध नहुँदा नहुँदै पनि तीन वर्ष टिकेको भन्दै आश्चर्य प्रकट गरेका छन् । 

उनले लेखेका छन्, ‘…म जाँदैछु । किनकी मेरो यस संगठनमा उच्च पदमा रहने कोहीसंग पनि पारिवारिक, व्यापारिक, केही पनि सम्बन्ध थिएन र मेरा आफ्नो काका, बढाउ, भिनाजु, मामा, ससुरा, जेठान, मीत बा, साना बा, साढु दाइ, ज्वाइँ, साथीको बुवा, ठूलो व्यापारीको छोरो, बा को व्यापार र पावर हेरेर मलाई जागिरमा लगाइदिने मान्छे कोही छैनन्, छँदै छैनन् त म कहाँबाट ल्याउनु ? अनि, म कसरी टिकुम ? धन्न पो ३ वर्ष टिकेछु ।’  

त्यस्तै, उनले बैंकमा बढुवा हुन तथा उच्च पदमा पुग्नका लागि लाज सरम पचाएर अमानवीय व्यवहार सहेर बस्नुपर्ने भन्दै त्यति नगरे कर्मचारी सँधै कुवाको भ्यागुतोजस्तै भएर बस्नुपर्ने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना कारण डा. मुकुल ढकाल निकालिनु र एक्सेल डेभलपमेन्ट बैंकबाट आफूलाई निस्किन बाध्य पार्नू एउटै भएको पौडेलले राजिनामा पत्रमा लेखेका छन् । 

अन्त्यमा उनले एक्सेल डेभलपमेन्ट बैंकलाई सफलताको शुभकामना दिँदै बैंकसँग जोडिएर काम गरेको पल सम्झनामा रहने पनि बताएका छन् । सँगै उनले आफूले एक्सेल डेभलपमेन्ट बैंक पनि कर्णाली डेभलपमेन्ट बैंकको जस्तो अवस्थामा पुग्यो भन्ने सुन्न नचाहेको उल्लेख गर्दै बैंकमाथि पशुपतिनाथको कृपा रहोस् भन्ने कामनासमेत गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK