काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर आफ्नो भागमा नपरे नेपाली काँग्रेस सरकारबाटै बाहिरिने तयारी गरेको छ । सुरुदेखि नै राष्ट्र बैंकको गभर्नर आफ्नो भागमा पार्न निकै कसरत गरिरहेको काँग्रेस अन्ततः गभर्नर पद नपाए सरकारबाटै बाहिरिने तयारी गरेको हो ।
काँग्रेसको यस्तो तयारीबारे काँग्रेसकै एक मन्त्रीले जानकारी दिएका छन् ।
‘नेपाल राष्ट्र बैंकको गभर्नर काँग्रेसले नै पाउनुपर्छ भन्ने छ । पार्टी सभापति शेर बहादुर देउवा र प्रधानमन्त्रीबीच यो विषयमा निरन्तर संवाद भइरहेको छ । सुरुमा एमाले गभर्नर काँग्रेसलाई दिने विषयमा कन्भिन्स पनि थियो । तर अहिले नचाहेको हो कि भन्ने लागेको छ ।’, ती मन्त्रीले भने, ‘तर, पनि हामी संवाद मै छौँ । गभर्नर पद नपाए सरकारबाटै बाहिरिने की भन्ने विषयमा पनि आन्तरिक छलफल भएको छ, निर्णय नै चाहिँ भएको छैन ।’
यसो त प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि गभर्नर आफ्नै पोल्टामा पार्न चाहन्छन् । तर, गभर्नर पद नपाए सरकारबाटै बाहिरिने काँग्रेसको भित्री तयारीपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।
यता काँग्रेसले एक साताभित्र गभर्नरमा पार्टी सभापतिले सिफारिस गरेका व्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएको चर्चा पनि छ । अर्कोतर्फ प्रधानमन्त्री गभर्नर एमालेकै भागमा परोस् भन्ने चाहन्छन् । यही कारण पनि गभर्नर नियुक्तिको विषय थप पेचिलो बन्दै गएको छ ।