काठमाडौँ । डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा करिब ३० करोड रुपैयाँ अपचलन भएको पाइएको छ । सहकारीमा गरिएको आन्तरिक छानबिनबाट ऐन विपरीत ८० करोड बढी रकम कारोबार भएको , ३० करोड अपचलन भएको र १० करोड बढी रुपैयाँ हिनामिना भएको पाइएको हो ।
सहकारीको रकम सहकारीका पदाधिकारीको व्यक्तिगत खातामा जम्मा गरिएको तथा ऋण नलिएका व्यक्तिको नाममा पनि ऋण देखाइएको खुलेको छ ।
यति मात्र होइन, सहकारीको सफ्टवेयरमा १३ हजार पटक अंक र अक्षर डिलिट गरिएको पनि छानबिनबाट खुलेको छ । त्यस्तै, सहकारीका ५ सय ८५ जना ऋणीमध्ये करिब ५० जनालाई बिना धितो नै ऋण दिइएको पनि पाइएको छ । धितो राखेर ऋण दिइएका ऋणीको पनि धितो मूल्याङ्नका गरिएको छैन । त्यसैमाथि कतिपय ऋणमा धितो नै नराखी धितो भनेर देखाइएको पनि छानबिनबाट खुलेको छ ।
अर्कोतर्फ करिब दुई हजार बचतकर्ताको रकम सहकारीका पदाधिकारीले आफ्नो निजी खातामा जम्मा गरेको समेत खुलेको छ । यस्तो कार्यमा सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतो देखिएको छ ।
हाल उक्त सहकारी ठगी प्रकरणमा सहकारीका व्यवस्थापक बसन्त पराजुली प्रहरी हिरासतमा छन् । अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा भने फरार छन् । उनीहरुविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ । उनीहरु दुवैजना नेपाली काँग्रेसका स्थानीय नेता रहेको खुलेको छ ।