काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताहरुको रकम यथाशीघ्र फिर्ता गराउन सरकारलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई यस्तो आग्रह गरेका छन् ।
उनले कतिपय सहकारी सञ्चालकहरुबाट ठगिएका बचतकर्ताहरुको रकम यथाशीघ्र फिर्ता गराउन र रकम फिर्ताका लागि प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली काँग्रेसले सरकारलाई दबाब दिँदै आएको देउवाको भनाई छ । उनले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याइ जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली काँग्रेस कटिबद्ध रहेको पनि बताएका छन् ।
त्यस्तै, उनले नेपालको वित्तीय क्षेत्रको विविध समस्याको समाधान गर्न काँग्रेस प्रतिबद्ध रहेको पनि कार्यक्रममा बताएका छन् ।