काठमाडौँ । सरकारले समस्याग्रस्त सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको जग्गा बेच्न थालेको छ । बागमती प्रदेश सरकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको सोल्टिमोडस्थित सिभिल कम्प्लेक्स अगाडिको पार्किङको जग्गा बेच्न लागेको हो ।
समितिले कम्प्लेक्स नभई कम्प्लेक्सको अगाडि रहेको पार्किङ एरियाको करिब १ रोपनी जग्गा बिक्री गर्न लागेको जनाएको छ ।
५२५.९५ वर्गमिटरमा फैलिएको उक्त जग्गा न्यूनतम मूल्य ७५ लाख प्रतिआनाको दरमा बिक्री गर्नेगरी समितिले गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ । उक्त जग्गा खरिदका लागि ३५ दिनभित्र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा गई फारम भर्न सकिनेछ ।
सो जग्गा बिक्रीपश्चात प्राप्त रकम सकारीका बचतकर्ताहरुको बचत फिर्ता गर्न प्रयोग गरिने समितिले जनाएको छ । हाल उक्त सहकारी ठगी प्रकरणका नाइके इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।