काठमाडौँ । महालक्ष्मी विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका चार जना कर्मचारीविरुद्ध फेरि ७ दिनको म्याद थप गरिएको छ । उनीहरुमाथि अनुसन्धान नसकिएपछि पुनः ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताएका छन् ।
हाल महालक्ष्मी विकास बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, कर्जा विभागका कर्मचारी धनन्जय पन्त र ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त प्रहरी हिरासतमा छन् । उनीहरुलाई प्रहरीले साउन २५ गते नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका बैंकका कर्मचारीमाथि सुरुमा सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको थियो । तर, अनुसन्धान नसकिएपछि पुनः सात दिनको म्याद थपिएको थियो । तर, त्यसअवधिमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले आइतबार म्याद थपका लागि फाइल महेन्द्रनगर पठाएको थियो । सोमबार फाइल म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । त्यसपछि अदालतले उनीहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनीहरुमाथि सात दिनको म्याद थप भएको यो तेस्रो पटक हो । अझै पनि बैंकमा भएको २ करोड ८५ लाख हिनामिनाको अनुसन्धान नसकिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि बैंकिङ कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि आपसी मिलेमतोमा बैंकको पैसा अनलाइन जुवा ‘वान एक्स बेट’मा लगाएको आरोप छ । प्रहरी र बैंकले गरेको प्रारम्भिक अनुसन्धानले पनि उनीहरुले ठूलो रकम वान एक्स बेटमा लगाएको र हारेपछि पोल खुलेको निष्कर्ष निकालेको छ ।
चारै जना कर्मचारी गोकुलेश्वर शाखामा कार्यरत थिए । चारै जना पक्राउ परेपछि हाल बैंकले चारैजनालाई निलम्बन गरेर अरु कर्मचारी राखेर काम सञ्चालन गरिरहेको छ ।