Skip to content
LAXMI SUNRISE BANK

‘अवार्ड’का नाममा महालक्ष्मी विकास बैंकको मनपरी खर्च, अवार्डकै बहानामा बसन्त बस्की दिल्लीमा मस्त !

अर्थ सरोकार

काठमाडौँ । यतिबेला महालक्ष्मी विकास बैंकको दार्चुला घोटाला प्रकरण चर्चामा छ । बैंकका कर्मचारीले बैंकको करोडौँ पैसा हिनामिना गरेपछि बैंकका कर्मचारीहरुलाईसमेत नाकमुख देखाउन गाह्रो भइरहेको छ । यहीबेला महालक्ष्मी विकास बैंकले अवार्डका नाममा मनपरी खर्च गरेको पाइएको छ ।

बैंकले सम्पत्ति गुणस्तर अन्तर्गतको विधामा एक भारतीय संस्थाबाट अवार्ड पाएको भनिएको छ । जबकि नेपालमा सम्पत्ति गुणस्तरका विषयमा अन्तराष्ट्रिय रुपमा अडिट नै भएको छैन । अवार्डदाताले सामान्य एप्लिकेशनका भरमा महालक्ष्मी विकास बैंकलाई अवार्ड दिएको पाइएको छ ।      

शुक्रवार नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको भनिएको छ । यस्ता अवार्ड विभिन्न कम्पनीले नेपालमै आएर दिन्थे । नेपालमा आएर बग्रेल्ती अवार्ड दिन थालेपछी राष्ट्र बैंकले बैंक अफ दी एयरबाहेक अन्य अवार्ड अघोषित बन्देज लगाएको थियो । तर, पछिल्लो समय पुनः यस्ता अवार्ड फस्टाउन थालेका छन् । 

महालक्ष्मी विकास बैंकले जारी गरेको प्रेस रिलिजमा सो अवार्डलाई बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको दाबी गरिएको छ । जबकि यो दाबी स्वयम् अवार्डदाताको हो वा कतै स्वतन्त्र पुष्टि भएको कुरा हो भन्ने यकिन तथ्यांक भेटिँदैनबैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरूको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको दाबी गरिएको छ । तर यसको विवरण कतै पनि उल्लेख गरिएको छैन ।

अवार्डका नाममा मनपरी खर्च !
अवार्ड लिन गए पनि एक जना सीइओ मात्र जाँदा हुने थियो । तर यो अवार्ड लिन बैंकले लिन अवार्डमा कुनै सम्बन्ध नै नभएका बसन्त बस्की पनि अवार्ड लिने नाममा बैंककै खर्चमा दिल्ली घुम्न गएका छन् । बसन्त बस्की, कसले कहाँ अवार्ड बाँड्दैछ भन्ने कुराको राम्रो जानकारी राख्ने व्यक्ति भएकाले उनले यस अवार्डमा पनि अप्लाई गरेका थिए । सो आवेदनपछि अवार्ड दाताले बैंकलाई अवार्ड दिएको थियो ।

‘बैंकको यस्तो गाह्रो स्थिति छ, खर्च घटाउनुपर्ने स्थिति छ । तर बैंकले अवार्ड पाएको नाममा कुनै व्यक्ति विशेष, त्यो पनि सानो तहको कर्मचारीलाई घुमाउन लैजाने काम भएको छ । यसमा कि अध्यक्ष र सिइओ जानुपर्थ्यो, कि सिइओ र डेपुटी सीइओ । ‘अवार्ड मिलाइदिएको’ भन्दै बसन्तजीलाई बैंकले नै खर्च गर्नेगरी घुम्न लगिएको छ ।’, बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘त्यो पैसा बस्कीको तलबबाट काट्नुपर्ने हो । तर सीइओले गलत प्रवृति च्यापेपछि कसैको केहि लाग्दो रहेनछ ।’

बैंकका सूचना अधिकारी अनुज आचार्यले पनि बैंकले होटल र आतेजाते खर्च व्यहोरेर बसन्त बस्कीसहितको टोलीलाई दिल्ली पठाएको स्वीकार गरेका छन् । ‘अवार्ड लिन राष्ट्र बैंकबाटै स्वीकृति लिईएको हो । एक जनामात्र वा अलि ठुलो मान्छे पठाएको भएचाहिं हुन्थ्यो, सिइओ र उहाँ जाने भनेपछि दुई जनाको खर्च बैंकले ब्यहोरिदिएको हो ।’, सूचना अधिकारी आचार्यले अर्थ सरोकारसँग भने, ‘खर्च कम गर्न एक जना मात्र गएको भए पनि हुन्थ्यो, तर यस्तै भयो ।’  

सूचना अधिकारी आचार्य बैंकका सीएफओसमेत हुन् । सार्है सोझा र इमान्दार कहलिएका आचार्यलाई बस्कीकै दबाबमा सीइओले भनेको बैंकका अन्य अधिकारीहरु दाबी गर्छन् ।          

लगाम लगाउने राष्ट्र बैंकको तयारी !
पछिल्लो समय अवार्डका नाममा बिकृति बढेपछि राष्ट्र बैंकले पनि यस्ता अवार्डमा लगाम लगाउनुपर्ने बहस सुरु गरेको छ । यसअघि राष्ट्र बैंकले बैंक अफ दी एयर बाहेक अन्य अवार्डहरुलाई नेपालमा प्रतिबन्ध नै लगाउने विषयमा छलफलसमेत सुरु गरेको थियो । तर, महालक्ष्मीले असम्बन्धित विषयमा अवार्ड पाएको भन्दै राष्ट्र बैंकमा पुनः यस विषयमा बहस सुरु भएको छ ।   

‘अहिले कार्यविधि नै खासै रहेनछ र स्वीकृति माग हुँदा दिएको अवस्था हो । जसले पनि, जस्तो पनि अवार्ड लिने कम भएको छ । यो विषयमा राष्ट्र बैंकले गम्भीर भएर सोच्दैछ ।’, राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ’जहाँसम्म खर्चको विषय र असम्बन्धित व्यक्ति बैंककै खर्चमा गएको भन्ने छ, त्यो विषयमा राष्ट्र बैंकले गर्ने इन्सपेक्सन् वा अडिटका बेला छानविन हुन्छ ।’  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK