काठमाडौँ । उमा गौरी कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मोरङ जिल्ला अदालतको फैसला उल्टाएको छ । जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालतले ४ जनासँग जनही एक एक करोड रुपैयाँ धरौटी मागेको हो ।
जिल्ला अदालतले यसअघि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराललाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
अदालतको यस्तो आदेशसँगै कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् । तर, जिल्ला अदालतको उक्त आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । सरकारी वकिल कार्यालयले प्रतिवादीलाई थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो ।
२२ करोड भन्दा बढी रकम हिनामिना प्रकरणमा उच्चले कोइरालासहित चार जना प्रतिवादीलाई जनही एक एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । सहकारीमा ८ हजार ८४२ शेयर सदस्यको करोडौँ रुपैयाँ हिनामिना भएको थियो । छानबिनका क्रममा सहकारीको कुल २२ करोड ४८ लाख २७ हजार रुपैयाँ अपचलन गरिएको पुष्टि भएपछि गत मङ्सिरमा अन्जलासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो ।