काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका मेनेजरले बैंकमा जम्मा भएको रकम बोरामा हालेर हिँडेपछि बैंक रकम लुटिनबाट जोगिएको खुलासा भएको छ । बैंक मेनेजर प्रवेश खड्की बैंक लुट्ने प्रदर्शनकारीको योजनाको सुईको पाउँदा र तत्काल बैंकको पैसा बोरामा हालेर हिड्दा बैंकको रकम लुटिनबाट जोगिएको हो ।
घटना बिराटनगरको हो । बिराटनगरमा रहेको भन्सार परिसरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा जम्मा भएको ४ करोड हाराहारी रुपैयाँ बैंकका ब्रान्च मेनेजरले बोरामा हालेर, भ्यानमा सुटुक्क हाली नजिकै रहेको शाखा पुर्याएका थिए । बीचमा प्रदर्शनकारीले देखेको भए सो रकम त्यहीं जल्ने थियो । त्यसरी लिएर नहिंडेको भए बैंकको रकम लुटिने थियो । तर मेनेजरको चलाखीले बैंकको रकम जोगिएको छ ।
भन्सार कार्यालय वरपर आएका प्रदर्शनकारीमध्ये केहिले ‘बैंकमा कति रकम होला ?’ भनेर सल्लाह गरेको सुनेपछि बैंक मेनेजरले तुरुन्त बैंकका क्यासियरलाई रकम बोरामा हाल्न लगाए । बैंक लुटिन सक्ने खबर नजिकै रहेको अर्को शाखामा खबर गरे र त्यहाँबाट भ्यान बोलाए । त्यसपछि रकम बोरामा हालेर, भ्यानमा सुटुक्क हाली भ्यान दौडाइयो । भ्यानको पछि पछि स्कुटरमा हुईकिएका बैंकका कर्मचारीको ७ हजार रुपैयाँ र स्कुटर भने लुटिएको छ ।
त्यसको करिव १५ मिनेटपछि बैंक लुट्ने समूह काउन्टरमा आयो र भल्ट फुटायो । तर रकम नभएको भेटिएपछि बैंकबाट सो समूह भाग्यो ।
अहिले यसरी मेनेजरले रकम जोगाएको खबरले केन्द्रीय कार्यालय तरंगित छ । सीइओ देवेन्द्र रमण खनालले फोन नै गरेर मेनेजरलाई धन्यवाद दिएका छन् । ती मेनेजरलाई एक कार्यक्रमबीच पुरस्कृत गरिने योजनासमेत बैंकले बनाएको छ ।
बिराटनगरमा त्यसरी रकम मेनेजरले जोगाएको तथ्य बाहिरिंदा नयाँ बानेश्वरका मेनेजरले भने बैंकको रकम र सुनसमेत सुरक्षित नराख्दा बैंकबाट रकम चोरिएको छ । सो शाखाबाट बैंकमा राखिएको सुन र करोड बढी रकम लुटिएको प्रारम्भिक अनुमान छ । ती मेनेजरलाई भने विभागीय कारवाही हुनुपर्ने माग बैंकभित्रै बाट उठेको छ ।