काठमाडौँ । कालिका लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले ‘दादागिरी’ देखाएको भन्दै कर्मचारीहरु असन्तुष्ट बनेका छन् । लघुवित्तका सिइओ कुलचन्द्र पराजुलीले कर्मचारीमाथि ‘दादागिरी’ देखाएको भन्दै स्वयम् संस्थाका कर्मचारीहरु असन्तुष्ट बनेका हुन् ।
अर्थ सरोकारको सम्पर्कमा आएका लघुवित्तका एक कर्मचारीले सिइओको दादागिरी शैलीले आफूहरु आजित भएको गुनासो गरेका छन् ।
ती कर्मचारीका अनुसार लघुवित्तमा सिइओ भए आएदेखि नै पराजुलीले कर्मचारीलाई हेप्ने, अनावश्यक रुपमा टर्चर दिने लगायतका ज्यादती गर्दै आएका छन् । यतिसम्म की उनले आफूलाई मन नपरेका कर्मचारीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजीनामा दिन दबाब दिँदै आएका छन् ।
‘सिइओ एउटै संस्थाका कर्मचारीप्रति पनि बायस हुनुहुन्छ । मन परेका कर्मचारीलाई काखी च्याप्ने र मन नपरेका कर्मचारीलाई पेल्ने काम गर्नुहुन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक कर्मचारीले भने, ‘उहाँले सिधै कर्मचारीलाई राजीनामा दिन दबाब दिनुहुन्छ । राजीनामा नदिए काममा पेल्ने नभए दुर्गममा सरुवा गरिदिनुहुन्छ ।’
यसो त कालिका लघुवित्तमा कर्मचारी संगठन नै नभएको ती कर्मचारीको भनाई छ । त्यही कारण कर्मचारीहरुले सिधै सिइओसँग कुरा गर्न नसकेको कर्मचारीले बताएका छन् । ‘कर्मचारी संगठन छैन । सिधै सिइओसँग कुरा राख्न सकिएको छैन । कुरा राखे पनि सिधै बर्खास्त गर्छन् कि भन्ने पनि डर छ ।’, ती कर्मचारीले भने, ‘विभागीय प्रमुखमार्फत कुरा त राखेका हौँ तर सुनुवाइ भएन । उहाँहरु पनि आफैँ पीडित हुनुहुन्छ ।’
हाल सिइओ पराजुली पुराना कर्मचारी निकालेर नयाँ भर्ती गर्ने मनस्थितिमा रहेको पनि कर्मचारीको भनाई छ । ‘१०-१२ वर्षदेखि काम गरिरहेका कर्मचारी पनि बढुवा भएको छैन ।’, लघुवित्तका कर्मचारीले भने, ‘बरु भ्याकेन्सी खोलेर सिधै नयाँ कर्मचारी नियुक्ति गर्ने काम भइरहेको छ । हामी दिक्क भइसक्यौँ ।