काठमाडौँ । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले जारी पूँजीको २० प्रतिशतले हुन आउने अर्थात् २० करोड २० लाख रकम बराबरको एक सय रुपैयाँ अङ्कित दरमा २० लाख २० हजार कित्ता सेयर जारी गर्ने भएको हो ।
आईपीओ जारी गर्नका लागि कम्पनीली बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
योसँगै क्यापिटलले हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ ।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मे.वा. क्षमताको आयोजना निर्माण कार्य भईरहेको छ । कम्पनीले २०७४ कार्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता र २०७५ पुषमा विद्युत् खरिद सम्झौता सम्पन्न गरी कम्पनीले आयोजनालाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ ।
हाल सम्म आयोजनाको ७८% कार्य सकेको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । अनुभवी जलविद्युत् तथा वित्तीय क्षेत्रका विज्ञहरूको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।