काठमाडौँ । सिद्धार्थ बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९ रुपैँयामा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १०रुपैयाँ बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु ३ अर्व ३६ करोड खुद नाफा आर्जन गरेको छ र यो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु २८ करोड अर्थात् ९.३० प्रतिशतको वृद्धि हो । यसै गरी बैंकको वितरणयोग्य मुनाफा रु १ अर्व ८३ करोड कायम रहन आएको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केहि संकुचन आएको देखिन्छ जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट रु १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पूजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो ।
यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई नै वितरण गरिन्छ । यसर्थ उक्त विनियोजित रकम रु १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा रु ३ अर्ब २९ करोड कायम हुन आउँछ जुन प्रतिशतको हिसाबमा हेर्दा २३.४१% को प्रतिफल हो । यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई २.६२% मा सिमित गर्न सफल भएको छ ।
२०८२ असार मसान्तमा बैंकको चुक्ता पूँजी रु. १४ अर्व ८ करोड रहेको छ भने जगेडा कोष रु. १६ अर्व ८७ करोड रहेको छ । बैंकको नेटवर्थ रु. ३० अर्व ९६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. २ अर्व ८९ करोडले वृद्धि भएको छ । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रति शेयर रु. २१९.७७ रहेको छ, जुन गत आ.व.मा रु. १९९.२१ थियो । यो गत आ.व.को तुलनामा १०.३२ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रति सेयर आम्दानी रु. २३.८९ रहेको छ, जुन गत आ.व. मा रु. २१.८६ थियो । यो गत आ.व.को तुलनामा ९.३० प्रतिशतको वृद्धि हो ।