काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन भएको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार १९औँ वार्षिकोत्सवका अवसरमा १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरिएको छ । उनका अनुसार आइतबार मात्रै देशका आठ स्थानमा रक्तदान कार्यक्रम गरिएको थियो । बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको हो ।
यसैगरी देशका विभिन्न १६ स्थानका विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिनलगायत सामग्री वितरण गरिएको उनले जानकारी दिए । यसैगरी श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाइ सामग्री हस्तान्तरण, मातातीर्थ वृद्धाश्रम समिति, चन्द्रागिरि, काठमाडौँलाई खाद्यान्न सामग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरणसमेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको रेग्मीको भनाइ छ ।
त्यसैगरी, ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ विकास बैंकले शनिबार गरिमा रोड रेस अन्तर्गत एक हजारभन्दा बढी धावकको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई आगामी दिनमासमेत प्राथमिकतामा राखी निरन्तरता दिने र रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको रेग्मीले बताए ।













