काठमाडौँ । डिशहोमले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु अधिकारिक माध्यममार्फत अर्थात् ‘डिशहोम गो’ बाट हेर्न आग्रह गरेको छ । एनपीएल आयोजक नेपाल क्रिकेट सङ्घ र ओटीटी अधिकार प्राप्त डिश मिडियाले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य देशहरुमा ओ.टि.टि. प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसँग रहेको छ । डिशहोमको डिशहोम गो नामक एप डाउनलोड गरी नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरु सोहि एप मार्फत हेर्न सकिन्छ ।
डिशहोमको ओटिटि प्लेटफर्म बाहेकका अन्य डिजिटल प्लेटफर्म तथा सामाजिक संजालबाट प्रसारण गर्नु अनुचित तथा अनधिकृत भएको हुँदा उक्त कार्य गर्न/गराउन मनाही छ ।
अधिकार प्राप्त डिशहोम बाहेक नेपाल प्रिमियर लिग अन्तर्गतका सम्पूर्ण खेलसँग सम्बन्धित सामग्रीहरुको अनधिकृत बिक्रि वितरण, पुन:प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने/गराउने कार्य गैरकानूनी रहेको हुँदा दण्डनीय छ ।
अत: सम्पूर्ण दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदार तथा सरोकारवालाहरुलाई तोकिएका आधिकारिक प्लेटफर्म डिशहोम गो लगायत अन्य च्यानलहरुबाट मात्र नेपाल प्रिमियर लिग अन्तर्गतका क्रिकेट खेलहरु हेर्नको लागि अनुरोध गरिएको छ ।
अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साईबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा सो को प्रचार-प्रसार नगर्न/नगराउनु हुन सम्पूर्ण व्यक्ति/संस्था तथा सरोकारवालाहरुलाई डिशहोमले अनुरोध गरेको छ ।
साथै, नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा क्यान वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउन आग्रह गरिएको छ । त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारवाही हुने डिशहोमले जनाएको छ ।













