काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने भएको हो ।
तत्कालीन मन्त्रीहरु डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्न लागिएको अख्तियारका एक अधिकारीले पुष्टि गरेको छ ।
अख्तियारका ती अधिकारीका अनुसार पोखरा अन्तराष्ट्रिय विमानस्थल प्रकरणमा दायर गर्न लागिएको भ्रष्टाचार मुद्दामा १० जना तत्कालीन सचिवलाई पनि विपक्षी बनाइएको छ ।
त्यस्तै, अख्तियारले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएको छ ।
उक्त मुद्दामा ८ अर्ब बिगो दाबी गरिएको अख्तियारका एक अधिकारीले बताएका छन् । दर्ता हुने क्रममा रहेको मुद्दामा विपक्षी बनाइएका पूर्व पर्यटनमन्त्री पोष्टबहादुर बोगटीको निधन भइसकेको छ । उनी माओवादीका नेता थिए ।








प्रतिक्रिया दिनुहोस्