Skip to content
LAXMI SUNRISE BANK

निगम भन्छ- ‘ग्यास अभाव छैन’, उपभोक्ता भन्छन्- ‘पाइँदै पाइँदैन’

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । 

इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो । 

सो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्यास भएको निगमले जनाएको छ । हाल केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।

बजारमा एलपी ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उनले जानकारी दिएका छन् । आवश्यकताअनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत निगमले स्पष्ट पारेको छ ।

तर, उपभोक्ताहरुले भने दुई तिन दिनसम्म लाइन लाग्दा पनि ग्यास नपाएको गुनासो गरिरहेका छन् । सोमबार मात्र डिपोमा ग्यास नपाएको भन्दै उपभोक्ताहरु सिलिण्डर बोकेरै नेपाल ग्यासको कार्यालयमा पुगेका थिए । उनीहरुले बजारमा ग्यास अभाव हुँदा खाना पकाएर खान समेत नपाएको गुनासो गरेका थिए । केहीले दुई तिनदिनसम्म ग्यासका लागि धाउँदा पनि ग्यास नपाएको बताएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK