Skip to content
LAXMI SUNRISE BANK

सहकारी ठग्नेविरुद्ध निर्मम बन्यो सरकार, रकम हिनामिना गर्नेको सम्पत्ति अंशबण्डा भएपनि खोसिने !

अर्थ सरोकार

काठमाडौँ । सहकारी ठग्नेविरुद्ध सरकार निर्मम बनेको छ । ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३’ लागू गर्दै सरकार सहकारी ठग्नेहरुविरुद्ध थप निर्मम बनेको हो । 

उक्त कार्यविधि वैशाख १० गते राजपत्रमा प्रकाशित भएसँगै लागू भइसकेको छ । सोही कार्यविधि अन्तर्गत सरकारले पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । 

जसअन्तर्गत सुरुमा ५ लाख रुपैयाँसम्म बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गर्ने सरकारको तयारी छ । त्यसका लागि सोही कार्यविधिमा टेकेर चक्रीय कोष बनाइनेछ । उक्त कोषमा सरकारले दिने रकम र सहकारीको रकम हिनामिनामा संलग्न व्यक्तिहरुको सम्पत्ति बिक्रीबाट असुल गरिएको रकम राखिनेछ ।

सोही कोषमार्फत सहकारीका बचतकर्ताको रकम फिर्ता गरिने बताइएको छ ।

यसरी सम्पत्ति लिलामी बिक्रीबाट पनि रकम फिर्ता गर्न नपुगे रकम हिनामिना गर्ने व्यक्तिको परिवारको कुनै सदस्यले अंशबण्डा गरेर वा सम्बन्धविच्छेद गरेर सम्पत्ति हस्तान्तरण वा नामसारी गरेको भए  त्यस्ता सम्पत्ति समेत लिलाम गरेर बिक्री गरिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । 

त्यस्तै, समस्याग्रस्त सहकारीबाट शोधभर्ना वा असुल हुन नसके सहकारीका सञ्चालक, व्यवस्थापकको एकाघर परिवारका सदस्यहरु र रकम हिनामिनामा संलग्न व्यक्तिहरुबाट सरकारी बाँकीसरह दामासाहीले असुल उपर गरिने पनि कार्यविधिमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK