Skip to content
LAXMI SUNRISE BANK

धरानका दुई ठूला सहकारी डुबे, दुवैका अध्यक्ष फरार, परिस्थिति ‘काबु’ भन्दा बाहिर गएपछि स्थानीय तहले माग्यो गुहार

अर्थ सरोकार

काठमाडौँ । धरानका दुई ठूला सहकारी डुबेका छन् । बराह र श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले झण्डै १२ अर्ब हिनामिना गरेपछि र सो रकम ‘सेटलमेन्ट’ गर्न नसकेपछि दुवै सहकारी डुबेका हुन् । 

डुबेको बराह बचत तथा ऋण सहकारीमा बचतकर्ताको ११ अर्ब रुपैयाँ र श्रेया बचत तथा ऋण सहकारी संस्थामा १ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन भएको खुलेको छ । 

हाल बन्द अवस्थामा रहेका दुवै सहकारीको फाइल धरान उपमहानगरपालिकाले हेर्दै आएको थियो । उपमहानगरपालिकाले बराह सहकारीलाई २०८२ भदौ २२ गते समस्याग्रस्त घोषणा गरेको थियो । 

यता ६ वर्षदेखि बन्द रहेको श्रेया बचत तथा ऋण सहकारी संस्थालाई धरानले २०८१ सालमा समस्याग्रस्त घोषणा गरेको थियो । तर, स्थानीय तहबाट समस्याग्रस्त घोषणा गरेर पनि समस्या समाधान गर्न नसकेपछि अन्ततः धरान उपमहानगरपालिकाले केन्द्रीय सरकार गुहारेको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै धरान उपमहानगरपालिकाले दुवै मन्त्रालयलाई समस्याग्रस्त सहकारीको सूचीमा समावेश गरेर पीडितलाई न्याय र पीडकलाई कारवाही गर्न आग्रह गरेको छ । धरानले स्थानीय स्तरबाट गरिएका प्रयास पर्याप्त नभएको र हाल परिस्थिति नगरपालिकाको क्षमता र काबुभन्दा बाहिर पुगेको भन्दै थप कारवाही प्रक्रिया अघि बढाउन केन्द्र सरकारसँग अनुरोध गरेको छ ।

हाल दुवै सहकारी अध्यक्ष फरार छन् । श्रेया सहकारीका अध्यक्ष लोकबहादुर लिम्बु सहकारी समस्यामा परेपछि भागेर विदेश पुगेका छन् भने बराह ग्रुपका अध्यक्ष विश्वकुमार विश्वकर्मा (लामिछाने) पनि फरार छन् । उनी पनि विदेश पुगेको आशंका गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK