Skip to content
LAXMI SUNRISE BANK

यातायात कार्यालय जनकपुरधामद्वारा ५७ करोड १५ लाख राजस्व संकलन

अर्थ सरोकार

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व संकलन गरेको हो ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आव २०८२/८३ मा सो कार्यालयले रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व संकलन गरेको कार्यालय प्रमुख वासुदेव मल्लले बताएका छन् ।

उनले उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम संकलन भएको जानकारी दिए । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व संकलन गरेको थियो ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा ढिलाइ भएको कारण राजस्व संकलनमा कमी आएको बताइन्छ ।

कार्यालय प्रमुख मल्लका अनुसार आव २०८२/८३ मा मोटरसाइकल १६ हजार ९५७ वटा, बस/ट्रक १८७ वटा, टेम्पो/विद्युतीय रिक्सा एक हजार ९०२ वटा, ट्याक्टर एक हजार २२ वटा, जिप/कार २२६ वटालगायत गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएको छ । यस अवधिमा नयाँ र वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK