Skip to content
LAXMI SUNRISE BANK

सिबिफिन अध्यक्ष उपाध्यायले भने- ‘बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, होसियारीपूर्वक चलाउनुपर्छ’

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु भएकोले यसलाई संवेदनशील र होसियारीपूर्वक संरक्षण गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले यस्तो बताएका हुन् । 

उनले देशमा व्याप्त आर्थिक मन्दी, लगानीको प्रतिकुल वातावरण, व्यवसायीहरुको खस्कँदो मनोबल र सरकारका निरन्तर नियन्त्रणमुखी निर्णयकाबीच वित्तीय प्रणालीमाथि अनावश्यक दबाब सृजना भइरहेको बताएका छन् । 

प्राकृतिक विपद् र बजार शिथिलताका कारण बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा पुगे पनि यो समस्या समाधान गर्न सकिने उपाध्यायको भनाई छ । मानव शरीरमा मुटुले रक्तसञ्चार गरेजस्तै बैंकिङ प्रणालीले अर्थतन्त्रमा पुँजीको प्रवाह (क्यास फ्लो) गराउने चर्चा गर्दै उनले मुटुमै समस्या आए सिंगो अर्थतन्त्रको शरीर नै अचेत हुने चेतावनी दिएका छन् ।

‘एउटा मुटुले जसरी शरीरमा रक्तसञ्चार प्रणालीलाई सञ्चालन गर्छ, अर्थतन्त्रमा बैंकिङ क्षेत्रको भूमिका ठ्याक्कै त्यही हो ।’, उनले भने, ‘त्यसैले बैंकिङ क्षेत्रलाई अत्यन्तै संवेदनशील र सावधानीपूर्वक व्यवहार गरिनुपर्छ ।’

त्यस्तै, बैंकिङ प्रणाली भौतिक सम्पतीमा भन्दा पनि पूर्ण रूपमा निक्षेपकर्ताको ‘विश्वास’ (कन्फिडेन्स) मा आधारित भएर चल्ने विशिष्ट क्षेत्र भएको उनले स्मरण गराए । उनले वित्तीय क्षेत्रको यही संवेदनशीलतालाई नजरअन्दाज गरेर बजारमा भ्रम छर्न नहुने कुरामा जोड दिएका छन् । ‘आज हामीले जतिसुकै राम्रो भने पनि, जस्तोसुकै नम्बर एक बैंक भएपनि यदि निक्षेपकर्ताको विश्वास गुम्यो र बचत फिर्ता लिन थालियो भने त्यो बैंक भोलि नै रित्तिन्छ र ढल्छ ।’, उनले भने, ‘बैंकिङ क्षेत्र पूर्णतया विश्वासमा टिकेको क्षेत्र भएकाले यसलाई कमजोर बनाउने खेल कसैले पनि खेल्नु हुँदैन ।’

अर्कोतर्फ पछिल्लो समय कतिपय राजनीतिक दलका नेताहरूबाट आउने गैरजिम्मेवार टिप्पणी, केही व्यवसायीहरूका आधारहीन आक्षेप र सञ्चारमाध्यममा आउने नकारात्मक चर्चाप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन र कानूनी निर्णयहरू गर्दा वित्तीय क्षेत्रको संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने उनको माग छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK