Skip to content
LAXMI SUNRISE BANK

‘अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीहरु डुबे, धेरै लगानी घरजग्गामा मात्र’- देव गुरुङ

अर्थ सरोकार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाकहरु बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताएका छन् । मनोज भट्टले लेखेको पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

उनले अधिकांश सहकारीले घरजग्गामा कारोबार गर्ने गरेको पनि बताएका छन् । नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणा भन्दा बाहिर गएको पनि उनको आरोप छ ।

करिव ६५ प्रतिशत सहकारी संस्थाहरुले बचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको गुरुङले दाबी गरे । सहकारी माइक्रोफाइनान्स वा अर्ध बैंकिङ मोडलमा केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको उनको भनाई छ । 

उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । हाल सहकारीको लगानी कृषि, घरेलु तथा औद्योगिक उत्पादनमा केन्द्रित हुन नसकेको उनको भनाई छ । उनले कुल ऋण लगानीको करिव ४० देखि ५० प्रतिशत घरजग्गामा गएको दाबी गरेका छन् । घरजग्गामा भएको लगानी अनुत्पादक लगानी रहेको उनको भनाई छ । कृषि उत्पादनमा मुस्किलले १० देखि १५ प्रतिशत मात्रै लगानी भएको उनले बताएका छन् ।

करिव ३० देखि ३५ प्रतिशत लगानी सेवामुखी क्षेत्रमा गएको र औद्योगिक क्षेत्रमा सहकारीको लगानी करिब ०.८५ प्रतिशत मात्रै रहेको उनको भनाई छ । उनले उत्पादनमा आधारित सहकारी विकासका लागि राज्यले सहकारीले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्नुपर्ने बताए ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न कडा नियमन र कानुनी व्यवस्था आवश्यक रहेको गुरुङले बताएका छन् । उनले राज्यले सहकारीसँगै सहकारीबाट उत्पादित कृषि तथा अन्य वस्तुको बजार संरक्षण गर्ने नीति लिन आवश्यक रहेको उल्लेख गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK