Skip to content
LAXMI SUNRISE BANK

४६ खर्बको पुँजी बजार पुरानै ऐनमा, तत्काल नयाँ धितोपत्र ऐन ल्याउन माग

अर्थ सरोकार

काठमाडौँ । ४६ खर्बभन्दा बढीको पुँजी बजार २०६३ सालको पुरानो धितोपत्र ऐनको भरमा चलिरहेको भन्दै लगानीकर्ताहरूले सरकारमाथि प्रश्न उठाएका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेलले पुरानो कानुनकै कारण इनसाइडर ट्रेडिङ, बजार चलखेल, नीतिगत भ्रष्टाचार र दण्डहीनता मौलाएको आरोप लगाउँदै तत्काल नयाँ धितोपत्र ऐन ल्याउन माग गरेका छन् ।

कँडेलले गैरकानुनी कारोबारबाट भएको लाभको तुलनामा सामान्य जरिवाना मात्रै हुने व्यवस्था प्रभावकारी नभएको भन्दै त्यसलाई ‘सर्भिस चार्ज’ जस्तै भएको टिप्पणी गरेका छन् । उनले नयाँ एनमा गैरकानुनी लाभको कम्तीमा तीन गुणासम्म जरिवाना, अवैध आम्दानी जफत र पीडित लगानीकर्तालाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार डिम्याट, अनलाइन कारोबार, बुक बिल्डिङ, मार्जिन कारोबार र साइबर जोखिमजस्ता आधुनिक अभ्यास विकास भइसके पनि तिनलाई नियमन गर्ने कानुनी आधार अझै कमजोर छ । सेबोन, नेप्से र सीडीएससीको अधिकार र जिम्मेवारीसमेत स्पष्ट नभएको उनको दाबी छ ।

कँडेलले बजारका गलत गतिविधिबारे आवाज उठाउँदा आफूविरुद्ध ४० करोड रुपैयाँको मानहानी मुद्दा लगाइएको उल्लेख गर्दै पुँजी बजारमा आर्थिक सुशासन कायम गर्न राज्यले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए । लगानीकर्ता संघले नयाँ धितोपत्र ऐनको मस्यौदासहित नियामकको अधिकार विस्तार, साइबर सुरक्षा र जवाफदेहितासम्बन्धी प्रस्तावसमेत समितिमा बुझाएको जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK