काठमाडौँ । नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु पाँच सय देखि एक हजारसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगन्ज–१९ सुईयागाउँका किसान ध्रुव थापाले बताए ।
‘यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन ।’, उनले भने, ‘चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नुपरेको छ ।’
उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगो दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो भएका कारण किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको बताए ।
कम्पनीले गत वर्ष मोटा धानको रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ निर्धारण गरेको थियो । कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले गत वर्ष २० हजार क्विन्टल कोटा तोकेर धान खरिद गरेकामा यस वर्ष अहिलेसम्म कोटा तोकिएको छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीले धान खरिद सुरु नगर्दा किसान व्यापारीलाई कम मूल्यमा धान बेच्न बाध्य भएको खजुरा गाउँपालिका–२ का किसान गेहेन्द्र धितालले बताए । उनले सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेको बताएका छन् । बाँकेका अधिकांश किसानले दसैँअगाडि नै घरमा धान भित्र्याइसकेका छन् ।
‘समयमा धान खरिद गर्न कम्पनीको कुनै तयारी नै छैन, बजारमा व्यापारीले सस्तोमा धान खरिद गरिरहेका छन् ।’, धितालले भने, ‘वर्षभरिको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ ।’ अधिकांश मध्यम र निम्नस्तरका किसानलाई भर्खरै भित्र्याएको धान बिक्री गरेर चाडपर्व मनाउने पैसा जुटाउन सस्तोमा बिक्री गर्न बाध्य भएको उनको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए । केन्द्रबाट कोटा निर्धारण भएको पत्र आउनेबित्तिकै खरिद सुरु गर्ने उनले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्