काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मालाई पक्राउ गर्न अदालतले दिएको अनुमतिको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । बैंकका सूचना अधिकारी रविन्द्र ढकालले बैंकलाई यस विषयमा केही पनि थाहा नभएको भन्दै झुट बोले पनि शर्माविरुद्ध गत असोज २ गते नै सीइओ शर्माविरुद्ध पक्राउको ‘वारेण्ट’ जारी गर्न अदालतले आदेश दिइसकेको र सोही अनुसार पक्राउ पुर्जी जारी भएको फेला परेको हो ।
अर्थ सरोकारलाई गोप्य स्रोतबाट प्राप्त सो पक्राउ पुर्जीमा प्रभु बैंकका सीइओसहित अन्य ३ जनालाई पनि पक्राउको अनुमति दिइएको छ ।
ऋण स्वीकृत गरे पनि ऋणीलाई ऋण नदिएको तर, सम्पत्ति लिलाम भने गरेको प्रकरणमा शर्मासहितका बैंकरहरुलाई ठगी तथा जालसाझीसम्बन्धि फौजदारी मुद्धा दर्ता भएको थियो । अञ्जली इन्टरनेसनलको जाहेरीपछि अनुसन्धान सकेर मुद्धा दर्ताको प्रक्रिया सकिँदा पनि शर्मा भने प्रहरीसमक्ष बयान दिन गएका थिएनन् । प्रहरीले बयानका लागि बोलाउँदा पनि नगएपछि ‘अनुपस्थित’ भन्दै सो मुद्धा अभियोजन भएको थियो । पछि अदालतले उनलाई पक्राउ गर्न प्रहरीका नाममा अनुमति जारी गरेको हो ।

जिल्ला अदालत पर्सामा दर्ता भएको अभियोगपत्रमा तत्कालीन सनराइजका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीविरुद्ध ठगी तथा विश्वासघातको कसुरमा बिगोसमेत माग गरिएको छ । तत्कालीन सनराइज बैंकबाट ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भए पनि धितो लिलामी गर्दासमेत ऋण नपाएको सो अभियोगपत्रमा उल्लेख छ ।
फोर्स लिभको बहाना, ४ दिन लुक्ने सोमबार अदालतसामु झुक्ने योजना !
आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सुमन शर्माले काठमाडौँ छाडेका थिए । प्रभु बैंकमा फोर्स लिभ लिएको इमेल एचआर विभागलाई लेख्न लगाएर नजिकका केहि साथीभाइहरु लिएर शर्मा पर्सा पुगेका छन् । शर्मासँगै गएका अर्का व्यक्ति निकट स्रोतका अनुआर ४ दिन पर्सामा लुकेर बस्ने र सोमबार अदालत हाजिर हुनेगरी उनी पर्सा पुगेका छन् । प्रहरीले पनि पक्राउ नगरी, अदालतमा हाजिर हुने व्यवस्था मिलाउनेसम्मको सेटिङ भएको दाबी गर्नेहरु पनि छन् । उनी भने पर्सामा बस्ने खाने राम्रो ठाउँको व्यवस्था गरेर नै त्यहाँ पुगेको र अदालतमा हाजिर भएर धरौटीमा छुट्ने योजना अनुसार आफ्ना वकिलसहित पर्सा पुगेको स्रोतको दाबी छ । उनको फोन पनि अफ छ ।
हरेक प्रश्नमा प्रभु बैंकको रेडिमेड जवाफ- ‘नाइँ मलाई थाहा छैन’
यता बैंकले यो प्रकरणलाई सकेसम्म लुकाउन खोजेको देखिन्छ । बैंकका सूचना अधिकारी रविन्द्र ढकाल आफ्ना बैंकका सिइओ सुमन शर्मा विरुद्ध पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि नै सूचना अधिकारीले बोक्ने फोन नै नलाग्ने बनाएर बसेका छन् । उनी निकटका अनुसार सीइओलाई लुक्ने व्यवस्था पनि स्वयम् ढकालले गरिदिएका हुन् । यता उनको पूरानो फोन नम्बरमा फोन गर्दा उनले आफुलाई यस विषयमा केही पनि थाहा नभएको दाबी गरे । असोज १ गते मुद्धा दर्ता भईसकेको, सोहि मुद्धाका आधारमा अदालतले असोज २ गते पुनः पक्राउ अनुमति दिएको र कर्मचारी विनियमावली अनुसार सिइओ निलम्बनमा समेत परिसकेको अवस्थामा पनि ढकालले भने असोज १३ गतेसम्म सीइओ शर्मा नियमित काममै रहेको र १४ गते देखि फोर्स लिभ लिएर बिदामा बसेको दाबी गरे । उनले सिइओविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा बैंकलाई केही पनि जानकारी नभएको भन्दै झुट बोले । जवकी अदालतले पक्राउ अनुमति दिएको कुरा असोज ४ गते बैंकमा अधिकांश सबै उच्च तहका कर्मचारीलाई थाहा भइसकेको थियो । केही दिन ‘केही पनि हुँदैन, सबै मिलाउँला’ भनेर बसेका शर्मा अन्ततः आफू हाजिर हुन नगए प्रहरी पक्राउ गर्न आउने खबर पाएपछि लिभ लिएर पर्सा हिँडेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्