गोरखा । आरम्भ चौतारी लघुवित्त संस्थाका तत्कालिन शाखा प्रमुख ललित जंङ शाही पक्राउ परेका छन् । नक्कली ऋणी खडागरी करिब १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा गोरखाको देउरालीस्थित रहेको शाखाका पुर्व शाखा प्रमुख शाही पक्राउ परेका हुन् ।
संस्थाले शाहीले देउराली शाखामा रहंदा १३ जना नक्कली ऋणी खडा गरी उनीहरुको नाममा १६ लाख ९५ हजार ऋण लगानी गरेको देखाएर सो रकम हिनामिना गरेको भन्दै प्रहरी उजुरी दिएको थियो । निलम्बनमा परेका शाहीलाई लुकीछिपी बस्दै आएको अवस्थामा तनहुँको आँबुखैरेनी बजारबाट आज बुधबार पक्राउ गरेको हो ।
उनलाई आजै गोरखा जिल्ला अदालतमा ठगी कसुर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागि ७ दिनको म्याद लिएको गोरखा प्रहरीले जनाएको छ । पछिल्लो समय लघुवित्त कम्पनीभित्र विभिन्न किसिमका घटनाहरु घटिरहेका छन् ।