×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकमा फ्रड भईरहन्छन्… हाम्रो स्टाफले बदमासी गरेकै हो, दोषी ठहरिए सीइओलाई पनि कारवाही हुनुपर्छ’ (कुराकानी)

PRIME CA

‘बैंकमा फ्रड भईरहन्छन्… हाम्रो स्टाफले बदमासी गरेकै हो, दोषी ठहरिए सीइओलाई पनि कारवाही हुनुपर्छ’ (कुराकानी)

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । अहिले कुमारी बैंकको १९ करोड ऋण काण्ड सतहमा छ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा लगायतका डकुमेन्ट बनाएर बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनाका पूर्व ‘रुममेट’ कुसन प्रधानको मुख्य डिजाइनमा करोडौंको ऋण अपचलनको यो काण्डमा सीआइबीले बैंकका केहि कर्मचारीसहित ऋणीहरुलाई पक्राउ गरिसकेको छ । ऋण लिंदा कुनै एंगलबाट पनि डकुमेन्ट सक्कल छ कि छैन भन्ने हेर्ने दायित्व नहुने भ्यालुएटर र मालपोत गएकै आधारमा बैंकका एक तहका कर्मचारी सोनु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको ऋण स्वीकृत गर्ने र योजनाकारसँग नजिकको सम्बन्ध भएका अनुजमणि तिमिल्सीनालाई जोगाएर बैंकका साना तहका कर्मचारीहरुलाई पक्राउ गरिएको भन्दै सीआइबीकै चौतर्फी आलोचना भईरहेका बेला यो प्रकरणमा अझै पनि बैंक बोल्न मानिरहेको थिएन । आज दिनभरजसो हामीले बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना र डेपुटी सीइओ मनिष तिमिल्सीनालाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर दुबैले हाम्रो फोन उठाएनन् । अन्तत बेलुकी नै सहि, बैंकका डेपुटी सीइओ मनिष तिमिल्सीना हाम्रो सम्पर्कमा आएका छन् । र हामीले उनीसँग यस प्रकरणका बारेमा बुझेका छौं । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले उनै तिमिल्सीनासँग गरेको कुराकानी :

– कुमारी बैंकको ऋण काण्ड बाहिर आएको छ । तपाईं (मनिष तिमिल्सीना) र सीइओको नाम पनि तानिएको छ । थाहा पाउँदा पाउँदै नक्कली जग्गाउपर ऋण दिएको कुरा आएको छ । तपाईंहरुलाई राजिनामाको नैतिक दबाब पनि छ भन्ने छ । खास कुरा के हो ?

यो अनुसन्धानकै क्रममा भएको कुरा हो । त्यसैले मैले धेरै कुरा भन्न मिल्दैन सुरजजी ।

 

– यहि प्रकरणमा तपाईं र सीइओले बैंक छोड्ने भन्ने कुराचाहिं के हो त ?

हामीले लोन सेटल गराईसकेका छौं । हाम्रो जिम्मेवारी त बैंक बचाउने हो नि ।

 

– लोन सेटल भएपनि अपराध त भयो नि, होइन र ?

हो, फ्रड त भएकै हो । फ्रड गर्नेलाई त कारवाही हुनै पर्यो नि !

 

भनेको तपाईंको सीइओलाई कारवाही गर्नुपर्यो ?

– त्यो त मैले भन्न मिल्दैन । जसजसले गलत गरेको छ उसलाई कारवाही हुनुपर्छ । सीइओले गरेको भए सीइओलाई पनि हुनुपर्छ।

 

-तल-तलका मान्छेलाई समातिएको छ, माथिकालाई जोगाइयो भन्ने आरोप छ नि ! यत्रो ऋण प्रकरणमा मालपोत जानेचाहिं समातिने, तपाईंहरुचाहीं जोगिने ?

मालपोत जाने मान्छेले मालपोतको काम त फत्ते गर्नुपर्यो नि । अव हामी मालपोत जाने कुरा भएन नि सुरजजी । सीइओ कहाँ मालपोत जान्छ त । सीइओ मापलोत जाने होइन । मालपोत जाने नै कर्मचारी हो ।

 

-यो कानुन पनि बैंक अफ काठमाडौँको केसमाचाहिं अजय श्रेष्ठ जेल जाने, कुमारी बैंकको केसमाचाहिं तपाईं र सीइओ बच्ने भन्ने पनि हुन्छ र ?

होइन, यसमा त लोन सेटल भइसकेको छ नि त ।

 

– यो लोन तपाईंले नै स्वीकृत गरेको भन्ने कुरा छ नि, खासमा कुरा के हो ?

होइन, मलाई त्यतिको अथोरिटी नै छैन नि !

 

– भनेको सीइओले नै गरेको हो ऋण स्वीकृत ?

अव मेरो अथोरिटी नै होइन भनेपछि बुझ्नुस् न ।

 

– लोन त उहाँले (सीइओ)ले नै दिएको होइन र ?

होइन,बैंकमा फ्रड त भईरहन्छन् ।कतिले नक्कली चेक लिएर आउँछ, कतिले के के गर्छन् । हामी मेनेजमेन्टमा बसेकाहरुले त  कन्ट्रोल गर्ने हो नि त । हाम्रो पहिलो दायित्व त बैंक बचाउने नै हो नि ।

 

-नियतको कुरा पनि त हो नि होइन र ? नक्कली धितो भन्ने थाहा पाउँदा पाउँदै ऋण दिनेचाहिं उम्किन मिल्छ र ?

त्यो त अनुसन्धानले बताउला नि । गलत नियत भन्ने प्रमाणित भयो भने त जसलाई नि कारवाही हुनुपर्छ नि ।

 

अनि तपाईंहरुले यत्रो काण्ड हुँदा किन प्रहरीलाई खबर गर्नुभएन ? घटना किन गुपचुप ?

हाम्रो काम त पहिला बैंक बचाउने हो । प्रहरीलाई खबर गरेको भए त ऋणी समातिन्थ्यो । अनि हाम्रो ऋण कसरी तिर्थ्यो र । त्यसैले हामीलाई जसरी पनि बैंक जोगाउनु थियो । हामी लोन उठाउन तिर लाग्यौं । त्यहि भएर हामीले प्रहरीलाई खबर गरेनौं ।

 

-तपाईंहरु दुवै जनाले बैंक छोड्न लागेको कुराचाहिं ठ्याक्कै के हो ?

(हाँस्दै) हाम्रो काम बैंक जोगाउने हो सुरज जी।  बाँकी कुरा त हेरौं न ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: